पोखरामा मोटरसाइकल ठोक्किँदा क्षणभर भै जलेर नष्ट

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित


पोखरा, २० असार । एकै दिशातर्फ गुडिरहेका दुई मोटरसाइकल ठोक्किए । र, क्षणभरमै जलेर नष्ट भए । यो दृश्य हो–पोखरा नयाँबजारको।

पोखरा महानगरपालिका वडा ९, नयाँबजारमा शनिबार दिउँसो महेन्द्रपुलदेखि पृथ्वीचोकतर्फ दुई मोटरसाइकल जाँदै थिए। दुवै बाइकमा दुई–दुई जना चढेका थिए।

दिउँसो करिब ३ बजेको हुँदो हो । नयाँबजारस्थित बृहस्पति आयाल स्टोर पुगिसक्दा ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । र, केहीबेरमै जलेर नष्ट भए । घटनामा मानवीय क्षति भने टर्‍यो । सो आगो पोखरा महानगरपालिकाको दमकलले स्थानीयको सहयोगमा निभाएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाश हमालले भने, ‘मोटरसाइकल ठोक्किएलगत्तै एक्कासी आगो लागेको र जलेर नष्ट भएका हुन् । कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान सुरु भएको छ।’

ग १४ प ३८६१ नम्बरकोमा सुरेन्द्र सुनार र ग १६ प ४४४१ नम्बरकोमा चालक इच्छा गुरुङ थिए। उनीहरुसहित पछाडि सवारी चारैजना सामान्य घाइते भएको प्रहरीले जनायो। घाइतेको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।