यातायात व्यवसायीले बुझाए गाडीको साँचो

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित



पोखरा, २२ असार । कोरोना भाइरस (कोभिड–१९) सँगै जारी लकडाउनले यातायात व्यवसाय ठप्प हुँदा यातायात व्यवसायीले धमाधम गाडीको साँचो नै बुझाउन थालेका छन् ।

पोखरामा प्रधानकार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आफू मातहतका व्यवसायीले खरिद गरेका गाडीको किस्ता बुझाउन नसकेपछि साँचो नै सम्बन्धित बैंकमा बुझाउन थालेका हुन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किनेका व्यवसायीलाई किस्ता बुझाउन ताकेता गरेपछि सम्बन्धित बैंकलाई ऋणको किस्ताको सट्टा गाडीको चाबी नै बुझाइएको कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । सोमबार पहिलो दिन कम्पनीले एनएमबी बैंकमा ३० वटा, गरिमा विकास बैंकमा २५ वटा, प्राइम बैंकमा ३० वटा र मुक्तिनाथ विकास बैंकमा २५ वटा चाबी बुझाएको हो ।

कोभिड–१९ महामारी न्यूनीकरणका लागि सरकारीले जारी राखेको एक सय दिन बढीको लकडाउनका कारण गाडी चलाउन नपाउँदा कमाई नभएकाले किस्ता बुझाउन असमर्थ रहेको उनीहरुको गुनासो छ ।

ऋणको किस्ता ६ महिना पर सार्न माग गर्दा बैंक तथा वित्तिय संस्थाहरुले बेवास्ता गर्दै किस्ता तिर्न ताकेता गर्न थालेपछि आफूहरुले बाध्य भएर साँचो बुझाउनु परेको कम्पनी अध्यक्ष केसीले बताए ।
अझै गाडीको चाबी बुझाउने अभियान जारी रहने र कम्पनीमा आबद्ध १ हजार ३ सय ७० वटा गाडीकै चाबी बुझाउने कम्पनीको योजना छ । ती सवारीमा करिब ५ अर्ब ६० करोड रुपैयाँ लगानी रहेको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थासँगको ऋण ७० प्रतिशत रहेको छ । ३० प्रतिशत व्यवसायी आफैले लगानी गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भएको प्रष्ट पारे । तालाचावी बुझाइसकेपछि सम्बन्धित बैंक तथा वित्तिय संस्थाले नै त्यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । ‘लिलाम गर्दा गाडीको मूल्याङ्कन अनुसार अपुग भए व्यवसायीले तिर्नुपर्ने र बचत भएमा व्यवसायीलाई बैंकले पैसा फिर्ता गर्नुपर्छ,’ उनले भने । उनका अनुसार कम्पनी आवद्ध करिब ९५ प्रतिशत व्यवसायी ऋणमा छन् ।

एनएमबी बैंक गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले व्यवसायीको समस्याबारे आफूहरु जानकार रहेको उल्लेख गर्दै राष्ट्र बैंकले नै यसको समाधान दिनुपर्ने बताए । उनले असार मसान्तसम्म राष्ट्र बैंकले निकास दिनेमा आशावादी रहेको बताए ।

यातायात व्यवसायीका अनुसार नेपालमा करिब ३ लाख यात्रुबाहक सवारीसाधन गुड्छन् । यस क्षेत्रमा करिब १२ लाख मानिसले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ ।