अली मियाँको गीत दुर्गेशले चोरेपछि

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ असार । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली मियाँको गीतको एक अन्तरा हुबहु मिल्छ ।

अली मियाँको गीतको ‘आकाशमा बादलु डम्मै छ । मनमा के छ भन्नेलाई सम्मै छ’ अन्तरा चालीसको दशकमै नेपाली जनजिब्रोमा खुबै रुचाइएको थियो । पोखरेली चेली प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला र प्रेमराजा महतले २०४६ सालमा गाएको अली मियाँको सिर्जनाको सो लोकगीतमा त्यही अन्तरा छ ।

दुर्गेशले हालैमात्रै आधुनिक बाजागाजासहित लकडाउनकै बेलामा ‘बिच्च बिच्चमा–२’ नामबाट गीत सार्वजनिक गरेका थिए ।

यता, अली मिया लोक वाङ्मय प्रतिष्ठानले गीत चोरी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिष्ठान सचिव पदमराज ढकालले भने, ‘गायक दुर्गेशले गाएको गीतको तेस्रो अन्तरामा सो अन्तरा प्रयोग गरेका छन् । यो सरासर चोरी हो । हामीहरु प्रतिष्ठानको बैठक बसेर न्याय खोज्छौं ।’

उनले लोक गीतको सिर्जना नभई संकलन हुन्छ भनिए पनि शब्द सर्जककै हुने बताउँछन् । म्यूजिक नेपालले बजारमा ल्याएको सो गीत कालजयी गीत भएको र शब्द हुबहु चोरी गर्न नहुने बताए ।

यता, प्रतिष्ठान उपाध्यक्ष समेत रहेकी लोकगायिका कोइरालाले आफूहरुले सो गीत गाइसकेपछि सुनेर लोक कवि अलि मियाँ निकै खुसी भएको स्मरण गरिन् । उनले भनिन्, ‘उहाँको रेकर्डेड गीतमध्ये यो दोस्रो हो । जीवनमै सबैभन्दा खुसी यो गीत सुनेर हुनुभएको मलाई सम्झना छ । मैले उहाँका हालसम्म १६ गीत गाएँ ।’

उनका अनुसार अली मियाँको पहिलो गीत, ‘रुन्छन् मुसा केही छैन आँटीमा । बित्यो जीवन केही छैन अँध्यारो ठाँटीमा’ हो । २०४५ सालमा गाइएको सो गीतमा पनि उनैले स्वर दिएकी थिइन् । अली मियाँको ८४ वर्षे उमेरमा पोखरामा भएको रथारोहणमा सार्वजनिक ‘अलि मियाँका गीतहरु’ एल्बममा कोइराला सहित प्रेमराजा महत र पदमराज ढकालले पनि स्वर दिएका थिए ।

यसरी तीन दशकपछि गीत चोरी भएपछि कोइरालाले आपत्ति जनाउँदै भनिन्, ‘चोरी गर्नु राम्रो होइन । युवा भाइबहिनीलाई आफै सिर्जना गरेर गीत संगीत क्षेत्रमा लाग्न सुझाव दिन्छु ।’

गीतकार सुमन श्रापिले भाइरल हुने बहानामा कसैको सिर्जना चोरी गरी संस्कृतिमाथि धावा बोल्नु अपरोध हुने बताउँछन् ।

त्यस्तै, पोखरेली संचारकर्मी एवं संगीतकर्मी सञ्जु सुनारले दुर्गेशले गीतमा नेपाली लोकसंस्कृति मार्ने गरी गितारको क्लीष्ट गरिएको आरोप लगाए ।

गायक दुर्गेशले भने आफूले सानो छँदा गाउँघरमा सो भाखाको गीत सुनी प्रयोग गरेको तर गीत आइसकेपछि मात्र उहाँ (अली मियाँ) को गीत भन्ने थाहा भएको दाबी गरेका छन् ।

त्यतिमात्र कहाँ हो र उनको सो गीतमा लोकदोहोरी गायक पशुपति शर्मा र गायिका ज्योति लोहनी गुरुङले ३ वर्षअघि गाएको ‘स्याङ्जा रयाले’ बोलको गीतसँग पनि भाखा मिलेको पोखरामा चर्चा छ । सोबारे भने सम्बन्धित पक्षले केही बोलेका छैनन् ।