कोरोना प्रभाव: पर्यटन क्षेत्र चलायमान बनाउन माग

-



     सफल आवाज    
     असार २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ असार । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन क्षेत्र उकास्न पोखराका पर्यटन व्यवसायीले सरकारले विभिन्न माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गर्न माग गरे । साथै हरेक बैंकले कम्तीमा निश्चित प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटनमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकसँग अनुरोध गरेका छन् ।

पोखराको पर्यटन क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ बराबरको बैंक तथा वित्तीय संस्थाको लगानी रहेको उल्लेख गर्दै उनीहरुले कोरोना प्रभावका कारण सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न नसक्ने हुँदा तोकिएको समयावधिभन्दा २ वर्ष बढाइदिन माग गरे ।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गरेका व्यवसायीहरुले कर्जाको भुक्तानी तालिकालाई पुनर्तालिकीकरण गरी २ वर्ष अवधि बढाइदिन माग गरे ।

यस्तै, कोभिड–१९ बाट प्रभावितत व्यवसायलाई छुट्टाइएको १ खर्बको पुनर्कर्जा कोष र ५० अर्ब रुपैयाँको व्यवसाय संचालन कोषको उपयोग पूर्ण रुपमा, समानुपातिक र सरलीकृत हुनुपर्ने भन्दै व्यवसायीले पर्यटनको राजधानी पोखरामा पर्यटनको अधिकतम् लगानी भएकोले सो पुनर्कर्जा कोषमध्ये अधिकृतम् रकम गण्डकी प्रदेशमा पठाउनुपर्नेमा जोड दिएका छन् ।

साथै एक खर्बको पुनर्कर्जा कोषको सदुपयोग गर्ने अवसर विशेषतः साना मझौलास्तरका व्यवसायीलाई प्राथमिकतामा राख्ने गरी थ्रेसहोल्ड सीमा (अधिकतम् १० करोड) राखी सरल र सहज प्रक्रिया अपनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाट निर्देशन दिन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरोलले बताए । पर्यटन व्यवसायको लागि सो सुविधाको समयावधि न्यूनतम् ३ वर्षका हुनुपर्ने आफूहरुको जोड रहेको उनले बताए ।

पुनर्कर्जाको सुविधा पर्यटन क्षेत्रको होटल, रेष्टुरेन्ट, ट्राभल, टे«किङ, सहासिक गतिविधि, पर्यटन सवारी लगायत अन्य पर्यटनसँग सम्बन्धित व्यवसायीलाई समेत सरल र सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउन परिषद्ले आग्रह गरेको छ ।

यसैगरी, गण्डकी प्रदेश सरकारबाट विनियोजित १ अर्बको व्यावसायिक जीवन रक्षा कोषको अधिकतम् रकम पर्यटन क्षेत्रमा विनियोजित गर्न पनि माग गरिएको छ । सो कोषबाट साना, मझौला र ठूला पर्यटन व्यवसायी सबैले समानुपातिक ढंगबाट लाभान्वित गराउन ५ प्रतिशत व्याजदरमा बढीमा १० लाखको थ्रेड होल्ड कायम गरी आवश्यक प्रक्रिया मिलाउन पनि माग गरिएको छ ।
आव सकिन लागेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले ऋण चुक्ता गर्न ताकेता गरेकोप्रति आफूहरुले आपत्ति जनाउँदै देशको विषम परिस्थितिमा अवस्था बुझी दिन र समयसीमा बढाइदिन आग्रह गरेका छन् । व्यवसायीहरुलाई पटक पटक फोन गरेर मानसिक तनाव नदिन समेत सचेत गराइएको छ ।

परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले मजदूर तथा कर्मचारी टिकाइराख्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताए । उनले राज्यबाट २५ प्रतिशत, निजी क्षेत्रबाट २५ प्रतिशत बेहोर्ने गरी बाँकी ५० प्रतिशत कर्मचारी तथा मजदूरबाटै तलब सुविधा छोड्ने गरी व्यवस्था मिलाउनुपर्ने बताए ।
कोरोना भाइरस प्रभावका कारण विगत ५ महिनायता पोखराको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ । यस्तै लामो समयदेखिको लकडाउनका कारण पोखराका सानोदेखि ठूलो पुँजी लगानी गरेका पर्यटन व्यवसायी अत्तालिएका छन् ।