पोखरामा मास्क नलगाई हिड्ने पक्राउ, बुधबार २१ जना प्रहरी फन्दामा

-



     सफल आवाज    
     असार २४ गते २०७७ मा प्रकाशित



पोखरा, २४ असार । पोखरामा मास्क नलगाई घरबाहिर तथा बजारमा हिड्ने २१ जना बुधबार पक्राउ परेका छन् । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम पक्राउ गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ ।

वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगर इकाइले पोखरामा बुधबार मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गरेपछि पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालय पठाइएकोमा १ सय रुपैयाँ जरिवाना गरी छाडिएको थियो ।

कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ ।

नेपालमा समेत कोभिड–१९ संक्रमण जोखिम बढ्दै गएकोमा गृह मन्त्रालयले सूचना जारी गर्दै नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, घरबाहिर हिड्दा अनिवार्य रुपमा मास्क र सेनिटाइजर प्रयोग गर्ने तथा पूर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको थियो ।

सोको बर्खिलाप गरेमा सरकारले संक्रामक रोग ऐन,२०२० अनुसार १ महिनासम्म कैद वा १ सय रुपैयाँ तथा दुवै सजायको व्यवस्था गरेको छ ।