४ दिन ४ प्रदेशमा अधिक वर्षा सम्भावना, नसोचेको स्थानमा समेत भेलपहिरो जान सक्ने

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



अबको ४ दिनसम्म नेपालका विभिन्न ४ प्रदेशमा मनसुन सुक्रिय भएपछिको अधिक वर्षा हुने अनुमान गरिएको छ । जलाधार विज्ञका अनुसार यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २, बागमती र गण्डकीमा असार २५ देखि २८ सम्म अधिक वर्षा हुने अनुमान गरेको हो ।

विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्नसक्छ ।

सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

गएको वैशाखदेखि नै मुलुकमा अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पु¥याएको छ । यस वर्ष नै पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ ।

प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८ सय ४ वटा विपद् घटनामा १ सय १४ जनाको मृत्यु भएको छ ।

अधिक वर्षाले नदीमा बहाव बढ्नसक्ने शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ । सो समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ । प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहन सचेत गराएको छ ।
नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।

यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।