जिल्लाभित्र सार्वजनिक यातायात संचालन गर्न दिने सरकारको निर्णय

-



     सफल आवाज    
     असार २५ गते २०७७ मा प्रकाशित



आवश्यक मापदण्ड पूरा गरी सरकारले शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने भएको छ ।

गत असार २२ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले मापदण्ड पूरा गरेर शुक्रबारबाटै लागू हुनेगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिने जानकारी गराएका हुन् ।

जिल्लाभित्र मात्र सञ्चालन हुन पाउने भनिएपनि काठमाडौं उपत्यकाको हकमा भने उपत्यकाभित्रका ३ जिल्लामा चल्न पाउने छन् । यसरी सञ्चालन हुने सवारी साधनले सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ ।

एक लहरको एक पंक्तिमा मात्र यात्रु राख्न पाउने र मास्क अनिवार्य गरिएको प्रवक्ता खतिवडाले बताए ।

सवारी चालक र सहचालकले पनि मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्नेछ । यसका साथै प्रत्येक दिन यातायातका साधन डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

सो व्यवस्था लागू हुँदासम्म साविकको भाडामा ५० प्रतिशत बढी भाडा लिन सक्ने गरी व्यवस्था गरिएको छ ।

सार्वजनिक यातायातजस्तै जिल्लाभित्र ट्याक्सीहरू पनि सञ्चालन हुन पाउने भएका छन् । ट्याक्सीमा चालकबाहेक २ जना मात्र राख्न पाइनेछ । ५ वर्ष मुनिका बालबालिकाको हकमा भने थप राख्न सकिनेछ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ देखि सार्वजनिक यातायातका साधन लगायत विविध सेवा बन्द गर्ने गरी लकडाउन जारी गरेको थियो ।