कोरोनाबाट थप ५ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ साउन । नेपालमा कोभिड–१९ का कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रेस ब्रिफिङमा सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पर्साका ४५ वर्षीय पुरुष, वीरगञ्जका ७९ वर्षीय पुरुष, वीरगञ्जकै ५७ वर्षीय पुरुष, सिराहाका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।

यसैबीच, नेपालमा एकैदिन ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा थप ४ सय ६४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो । थप संक्रमितसहित कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ ।

यस्तै, ४ सय २५ जना पछिल्लो २४ घण्टामा निको भइ घर फर्केका छन् । कुल निको हुने १५ हजार ८ सय १४ जना पुगेका छन् । प्रवक्ता गौतमका अनुसार हाल देशभर विभिन्न स्थानमा १० हजार २ सय ५ जना क्वारन्टिन बसेका छन् ।

यसैबीच, संक्रमण दर पुनः बढ्न थालेपछि काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका अन्य कामहरू बन्द हुने भएका छन् ।