राष्ट्र बैंकले यसपालीको दशैंमा नयाँ नोट निष्कासन नगर्ने

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ भदौ । कोरोनाभाइरस संक्रमणको जोखिम वढीरहेको भन्दै नेपाल राष्ट्र बैंकले यसपालीको वडादशैंको अवसरमा नयाँ नोट वितरण नगर्ने भएको छ ।

देशको केन्द्रीय बैंकले यसअघिका वर्षहरुमा दशैंलाई लक्षित गरेर रुपैयाँ ५, १०, २०, ५० तथा १०० का नयाँ नोट निष्काशन तथा वितरण गर्दै आएको थियो ।

सर्वसाधारणको लागि केन्द्र तथा जिल्लामा तोकिएका बैंक तथा वित्तीय संस्थाहरुबाट नोट वितरण हुँदै आएकोमा कोरोनाको संक्रमणलाई मध्यनजर गरेर नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग श्रोतले बताएको छ ।

कोरोनाको संक्रमण वढिरहेको भन्दै सरकारले भिडभाड नगर्न, त्यस प्रकारका कार्यहरु नगर्न नगराउन निर्देशन गर्दै आएको छ । बैंक श्रोतका अनुसार सरकारको त्यहि निर्देशनलाई बैंकले पालना गरेको हो । तर यसका बारेमा अझैं छलफल भईरहेकोले छाप्ने वा नछाप्ने विषयमा कुनै निर्णय नभएको बुझिएको छ ।

नेपाली समाजमा दशैंको बेलामा ठूलाबडाको हातबाट टीका लगाउने, आर्शिवाद ग्रहण गर्ने तथा अग्रजले टीका लगाएर गक्ष अनुसार नयाँ नोट दक्षिणा दिने चलन छ ।