पुरानो गाउँको परिकल्पना

-


     प्रकाश सापकोटा    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित


हामी इतिहास पढ्छौं किताबका पानाहरुमा। पढेर कति कुरा विश्वास गर्छौं भने कतिपय कुरामा शंका व्यक्त गर्छौँ- यस्तो सम्भव होला र ? यस्तो पनि थियो होला र ? लेखिएको इतिहास सत्य ‘हो’ र ‘होइन’ को बहसमा उत्रिन्छौँ । सके इतिहासकारको धज्जी उडाउँछौँ। फलतः इतिहासका किताब काल्पनिकता मिसिएको आख्यान जस्तै ठान्न थाल्दछौँ। तर, आजको यथार्थ भोलि इतिहास बन्छ र आउने पुस्ता पनि आजको बारेमा यस्तै द्विविधामा पर्न सक्छ भनेर इतिहास बदल्ने वा सच्याउने कुरा सोच्न अलिक भ्याउँदैनौँ। खै किन हो !

हामीले लगाउने पहिरन, प्रयोग गर्ने सरसामान र प्रयोगमा आउने प्रविधि लगायतका चिजहरु समयक्रमसँगै बदलिँदै जान्छन्। नयाँ पुस्ताका लागि पुरानो पुस्ताका ती चिजहरुको अवशेष रहेनन् भने इतिहास विवादित हुने सम्भावना बढेर जान्छ। र, हामीकहाँ भएको त्यही छ।

हजुरबुवाले कम्मरमा भिर्ने खुर्पेटो, सिगरेटको साटो पिउने पातमा बेरिएको सुर्ती वा बिँडी, आगोका फिलिङ्गाले तताएर लुगामा लगाउने इस्त्री, ढोकाको आग्लो खोल्ने/बन्द गर्ने ताल, भोटेताल्चा आदि केही उदाहरण हुन् जो गाउँघरबाट लगभग लोप भइसके। अरू त अरू, हामी स्कुल पढ्दाताका प्रयोग गरिने गरेका कालोपाटी, त्यसमा लेख्ने खरी‌ (चक) कालोपाटीमा लेखेको मेट्ने कपडा सिलाएर बनाइएका डस्टर कहाँ भेटिएलान् र अब ! हाम्रा सन्ततिलाई ती चिजका बारेमा बताउँदा उनीहरूलाई काल्पनिक कथा झैँ लाग्ने भइसक्यो। थुप्रै पुराना चिजहरुलाई नयाँ चिज र प्रविधिले बिस्थापित गर्दैछन्। हामी त्यस्को अवशेष जोहो गर्ने सोचसम्म पनि बनाइरहेका छैनौँ ।छौँ त ?

यसपालिको गर्मी बिदामा विश्वब्यापी कोरोना महामारीको प्रभावले स्वदेश भ्रमणको योजनालाई तुहाइदियो। विदा मनाउन आफू बसेकै देशको आन्तरिक भ्रमणमा खुम्चिनु पर्यो।  तर भ्रमण उपयोगी र फलदायी लाग्यो। र, त्यसको अनुभव लेख्दैछु।

डेनमार्कको राजधानी कोपनहेगन देखि लगभग १ सय ७० किलोमिटर टाढाको सहर ओडेन्से नजिक एउटा ऐतिहासिक ठाउँ रहेछ। ठूलो क्षेत्रफलमा फैलिएको त्यो ठाउँलाई प्राचिन गाउँको प्रतिकका रुपमा सुरक्षित गरिएको रहेछ। खुला र सजिव संग्रहालय घुम्दा इतिहास आँखा अगाडि देख्न पाइने, गजब लाग्यो।

अठारौं, उन्नाइसौं शताब्दीका गाउँले घरहरू र गाउँले जीवनलाई सम्रक्षण गरेर राखिएको सो ठाउँ घुम्दा डेनिसहरू कुन अवस्थाबाट अहिलेको विकासको युगमा आइपुगेका हुन् भन्ने प्रत्यक्ष अनुभव गर्न पाइन्छ। त्यहाँ परम्परागत शैलीमा गाइ, कुखुरा, बंगुर पालन गरिएको छ। स्वयंसेवकहरु त्यसको स्याहारसुसार उही परम्परागत शैलीमै गर्छन्। प्राचिन कालमा गाइ चरन, गोबर सोहेर्ने तरिका देखि दुहुने बिधि कस्तो थियो भन्ने स्वयंसेवकले गरेरै देखाउँछन्। परम्परागत पोशाक मै खटिएका स्वयं सेवकले आगन्तुक र पर्यटकलाई आधुनिकताको पटक्कै ढाँचा नपारी परम्परागत तरिकाले नै ती प्राचीन चिजहरु सँग परिचित गराउँछन्।

अघिल्ला शताब्दीमा गाउँका विद्यालय कस्ता हुन्थे र कसरी पढाइ हुन्थ्यो भन्ने देखाउन हप्तामा एक दिन आसपासका केटाकेटी सहभागी गराएर दुरुस्तै तरिकाले कक्षा सञ्चालन गरेर देखाउँछन्। पुर्खाले खेत जोत्ने बिधि, इँटा पार्ने तरिका सबैको सम्रक्षण गरिएको छ। गाउँका घरहरू भित्र कोठाको बर्गिकरण, प्रयोग गरिने गरेका फर्निचर, सरसामान, पकाउने भाँडाकुँडा र प्रबिधि सबका सब प्रत्यक्ष देख्न र अनुभव गर्न सकिन्छ। 

युवा, किशोर-किशोरी र बालबालिकाहरूलाई समेत कौतुहल र रोमान्चित गराउने प्राचिन वस्तुस्थिति घुम्नका लागि मात्र नभएर बिगतलाई मर्न नदिने अथक मेहनत पनि त्यहाँ झल्किन्छ। हो, नयाँ पुस्तालाई देखाउने र सिकाउने, अनि इतिहासलाई जिउँदो बनाइराख्ने यो काइदाको तरिका हो भन्ने त्यो ठाउँ घुमेर बटुलेको अनुभव हो।

हाम्रो देश भौगोलिक, सांस्कृतिक बिविधताको नमुना हो जहाँ बर्तमानमै एक स्थान र समूह अर्को स्थान र समूहका लागि कौतुहलपूर्ण छ। अझ ऐतिहासिक बस्तु र परम्परालाई ऐतिहासिक पारामै सम्रक्षण गर्न पाए उक्त सम्रक्षित क्षेत्र एउटा खुला विद्यालय हुनेछ।

यो खासै गाह्रो काम पनि रहेनछ। हामीकहाँ स्थानीय वा प्रादेशिक सरकारले चाहेमा खेर गएको सरकारी बाँझो जग्गामा एउटा नमुना गाउँ बनाउन सम्भव देखिन्छ। पुरानो शैलीका घरहरू ती घरभित्र पुरानै शैलीका खोठा र ती कोठामा पुरानै शैलीका सरसामान, घर बाहिर वा टोलको पुरानै शैलीमा निर्माण र साजसज्जा गर्न सकिन्छ। परम्परागत पोशाकमा केही स्वयंसेवक खटाएर दिनमा केहि घन्टा आलोपालो गर्दै परम्परागत तरिकाले गाउँले जनजिवनको प्रस्तुतिकरण प्रत्यक्ष रुपमा गर्न सके त झन् गजब !

हामी कहिलेकाहीँ चिन्ता पनि गर्छौँ, हाम्रा पुर्खाले प्रयोग गरेका ढिकी, जाँतो, ओखल, मदानी, माना, पाथी, प्याङ्, थुन्से लगायतका थुप्रै चिजहरु हराउन थाले भनेर। हो, ती चिजहरुलाई निर्मित नमुना गाउँ वा खुला संग्रहालयमा सुरक्षित, संरक्षित र प्रदर्शित गर्न सम्भव छैन र ?

त्यस्तो एउटा ठाउँ निर्माण गर्न सकियो भने त्यो आन्तरिक र बाह्य पर्यटकको लागि त आकर्षक हुन्छ नै, नयाँ पुस्ताका लागि पनि कहिल्यै नमर्ने गरी हाम्रो विगत र वर्तमान ज्युँदो रहन्छ। इतिहास भनेर किताबका पाना घोक्नु र इतिहास किताबमा लेखिएका चिज, परम्परा, प्रविधिको प्रयोग कसरी हुँदो हो भनेर घोत्लिनु पर्ने अवस्थाबाट केहि हद छुटकारा पाउन सकिन्छ। कुनै स्थानीय वा केन्द्रीय (जुन भए पनि) प्रशासनले यसबारे सोचिदिए कुभलो पक्कै नहोला !