गति लिँदै पर्यटन, प्रवद्र्धन रणनीति बनाउँदै पर्यटन बाेर्ड

- ११ महिनामा दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरे

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मङ्सिर । कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको देखिएकाे छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् । एघार महिनाका अवधिमा सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार पछिल्लोपटक नोभेम्बरमा मात्रै एक हजार ९४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा एक हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मकरूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबाट २०९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै भारतबाट १२३ र रुसबाट १०२ तथा क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टेलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका बोर्डको विवरण छ । सन् २०२० जनवरीमा ७९ हजार ६८६, फेब्रुअरीमा एक लाख एक हजार ४०० र मार्चमा ३४ हजार २५ विदेशी पर्यटक नेपाल आएका थिए । सबैभन्दा कम मे अप्रिलमा १३, मेमा ३० र जुन महिनामा १०० विदेशी पर्यटक आएको बोर्डले जनाएको छ । त्यस्तै जुलाइमा १९५, अगस्टमा २६८, सेप्टेम्बरमा ५८७ विदेशी पर्यटक आएका थिए ।

तुलनात्मकरूपमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि बोर्डले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी प्रवद्र्धनको रणनीति बनाउन लागेको छ । बोर्डका निर्देशक मणि लामिछानेले पछिल्ला महिनामा विदेशी पर्यटक बढेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धनको तयारीमा बोर्ड जुटेको बताएका छन् । उनका अनुसार बेलायतमा कोभिड–१९ को खोप प्रयोगमा आउने भएपछि विदेशी पर्यटक बढ्ने नयाँ ढोका खुलेको छ । जर्मन औषधि निर्माण कम्पनी बायोइन्टेक र अमेरिकन फाइजर कम्पनीले संयुक्त साझेदारीमा उत्पादन गरेको कोरोनाविरुद्धको खोपले मानव प्रयोगमा पहिलो अनुमति पाएको पाएको थियो ।

अमेरिका तथा अन्य युरोपेली मुलुकमा पनि खोपको उपयोग भएका खण्डमा ती देशबाट धेरै पर्यटन भित्र्याउन सकिने बोर्डको आकलन छ । नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले यसै सातादेखि आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् ।

कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ । निर्देशक लामिछानेले बेलायतले खोप प्रयोगका लागि अनुमति दिएसँगै विश्व बजारमा नयाँ आशाको सञ्चार छाएको बताए । उनले भने, कोभिड खोपले आशा जगाएसँगै विश्व बजारमा पर्यटनलगायत आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ । अहिलेको अवस्थामा पर्यटनको कस्तो रणनीति बनाउने भन्ने विषयमा बोर्डले गृहकार्य गरिरहेको छ ।