भौतिक पूर्वाधारमा गत वर्षभन्दा राम्रो प्रगति

-



     सफल आवाज    
     मंसिर १९ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १९ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताए । आर्थिक वर्ष २०७७÷७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई अहिले नै सन्तोष हुन सकिने अवस्था नरहेको भन्दै अझै धेरै गर्न सकिने औँल्याए ।

मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहिनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए। उनका अनुसार समस्याको सहीरुपमा उजागर हुन नसके समाधान गर्न सकिँदैन । उनले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु स्वाभाविक रहेको बताए। उनले पूर्वाधार निर्माणका क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको पनि जिकिर गरे् ।

राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाले आफूले कति गरेको छु भनी स्वमूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । समयानुसार विकासको माग र मोडेल फरक हुने उनले बताए । उनले भने्, “हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक अनि पहाडमा सुरुङको आवश्यकता भएको छ ।”

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. पुष्पराज कँडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताए । भौतिक पूर्वाधार मन्त्रालय स्थलगतरुपमा काम गर्ने मन्त्रालय भएको र सोहीअनुसार काम पनि गरिरहेको उनले जनाए । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप लगनशीलताका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले आयोजना प्रमुखलाई कार्यस्थलमा समय दिन समेत आग्रह गरे् ।