९ महिनापछि खुले घोडेपानी र पुनहिलका होटल तथा धार्मिकस्थल

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



पोखरा, १ पुस । म्याग्दीका पर्यटकीय क्षेत्रका होटल, रेष्टुरेन्ट र धार्मिकस्थल ९ महिनापछि आजदेखि खुलेका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर ती क्षेत्र खुला गरिएको हो ।

कोभिड–१९ का कारण बन्द राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्वप्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल खुलेपछि पर्यटक तथा भक्तजन उत्साहित भएका छन् ।

यस्तै, म्याग्दीका गलेश्वरधाम, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ । स्थानीयहरु पर्यटकको स्वागतमा स्वास्थ्य सावधानी अपनाउँदै तम्तयार भएर बसेको बताएका छन् । बजार क्षेत्रमा चहलपहल देखिन थालेको छ ।

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम पनि भक्तजनका लागि खुला गरिएको छ । सोमबार विशेष भीड लाग्ने गलेश्वर शिवालयमा उच्च सुरक्षा सतर्कताका साथ भक्तजनलाई दर्शन र पूजाआजाको व्यवस्था मिलाइको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सम्बन्धित मन्त्रालयको निर्णयानुसार ती क्षेत्रका स्थल खुला गर्न सकिने बताएका छन् ।