उपलब्धी समाप्त पार्ने गतिविधि नगर्न नेतृत्वलाई गजुरेलको आग्रह

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ पुस । नेकपाका नेता हरिबोल गजुुरेलले दल विभाजनको दुुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धी नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् । आज आयोजित पत्रकार भेटघाटमा उनले एक–अर्काको योगदान र अस्थित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गाली गलौज र टिक्का टिप्पणी रोक्न दुुवै समूहलाई सल्लाह दिए ।

नेता गजुुरेलले भने, “स्थायी समितिको निर्णय विपरित तथा अरु सम्भावनाको खोजी बिनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण छ ।” उनले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राखे ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुुरेलले भने, “पछिल्लो समय थेग्नै नसक्ने गरी नाङ्गोरुपमा भएको विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्याे ।” पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटवन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीको पक्षमा आफूले इमान्दारपूर्वक वकालत गर्दै आएको घटना सुनाए ।