अहिलेकाे अवस्थामा जनता जिम्मेवार हुनुपर्छ : पूर्वराष्ट्रपति डा यादव

-



     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित



काठमाडौ, १६ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । यसका लागि उनले जनताकाे पनि कर्तव्य र भूमिका हुने भएकाेले अहिलेकाे अवस्थामा जनता जिम्मेवार हुनुपर्नेमा जाेड दिए ।

विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । सबैले आआफ्नो जिम्मेवारी बोध गरे देशको भलो हुने उनको भनाइ थियो । “अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे ।

सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छु, डा यादवले भने। बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेकाे अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो । अहिलेकाे अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएकोमा चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने जिकिर गरे । अहिलेकाे अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ”, डा यादवले भने, अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ ।

स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए । उक्त अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जानकारी गराएकाे छ ।