मुक्तिनाथ विकास बैंक १५औं वर्षमा

-



     सफल आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ पौष । मुक्तिनाथ विकास बैंक आफ्नो स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी, रु. १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालनमा आएको थियो । बैंक स्थापनाको अवसरमा विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरुमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न भएका छन ।

यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको बैकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले सफल आवाजलाई बताए ।

बैंकले कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.) मा आधारित प्रविधि रहेकाे जनाएकाे छ ।