साहित्यकार माकाजूका ३ कृति विमोचित

-


     सफल आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ चैत्र । साहित्यकार रवीन्द्र माकाजूले आफ्नो ६० औँ जन्मदिनको अवसर पारेर ३ वटा कृति सार्वजनिक गरेका छन् । वरीष्ठ साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला र ब्रह्मकुमारी प्रणिताले व्यक्ति र व्यक्तित्व भाग १ भाग २ तथा पवित्र गलेश्वरधामको सोमवार संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्नु हुँदै वरीष्ठ साहित्यकार सरुभक्तले माकाजू जीवनी विधामा कुशल लेखक भएको उल्लेख गर्दै नेपालमा जीवनी विद्यामा थोरै लेखकले मात्र कलम चलाएको यथार्थता व्यक्त गरे । पोखरा प्रज्ञा प्रतिष्ठानमा कुलपति पदमराज ढकालले भने– साहित्यकार माकाजूले नेपालमा भएका प्रमुख मठमन्दिरका बारे मिठो शैलीमा पुस्तक लेखेर उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिए ।

लोकगायिका हरिदेवी कोइरालाले माकाजू सृजानात्मक रुपमा सधैं क्रियाशील भएको उल्लेख गर्दै यहाँका जात्रा पर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । लेखक माकाजूले स्थानीय पोखराका साहित्यकार, कलाकार, गायक समाजसेवीहरुको अवमूल्यन हुने गरेकोमा दुखेसो प्रकट गर्दै यहाँका समाजसेवीहरु सेवाका दृष्टिकोणले उच्च र महान् भएको विचार व्यक्त गरे ।

साहित्यकार रवीन्द्र माकाजूका बिमाेचित कृती

अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका कोषाध्यक्ष गीता तिवारी गौतमको सभापतित्वमा भएकोमा कार्यक्रममा राजयोगिनी परणिता साहित्य समाजका सचिव असफल गौतम लगायत वक्ताले बोलेका थिए । कार्यक्रममा वरीष्ठ गायक रामभक्त जोजिजू र सुवर्ण बज्राचार्यले भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विश्वहिन्दु महासंघ कास्कीलाई आर्थिक सहयोग र गलेश्वर मन्दिर म्याग्दीलाई ४०० थान पुस्तक हस्तान्तरण गरिएको थियो ।