नो भ्याक्सिन, नो टुरिज्म

-


     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित


पाेखरा, १४ जेठ । पोखरा पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममा कोभिड–१९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटनमैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ।

परिषद्का अध्यक्ष गोपी भट्टराईले विज्ञप्ति जारी गदै ‘नो भ्याक्सिन नो टुरिज्म’ भएकाले नेपाललाई अन्तरराष्ट्रियजगत्मा सुरक्षित गन्तव्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गरे।

कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्थाका साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आबद्ध मजदूरलाई तत्काल सम्बोधन हुने गरी राहत प्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

हाल ३० प्रतिशतभन्दा बढी व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेका स्मरण गराउँदै देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले विशेष नीति ल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन क्षेत्र ठप्प हुँदा यस क्षेत्रसँग सम्बद्ध मजदूरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहत प्याकेजमा मजदूरलाई पनि समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।