चाहिएको बर्षात् नचाहिएको बिपद्

-


     प्रकाश सापकोटा     
     श्रावण १४ गते २०७८ मा प्रकाशित


बर्खा र विपद् सँगसँगै आउँछ नेपालमा। बर्षात् खेतिपातीमा निर्भर किसानलाई नआई नहुने। बर्षात् नभए बर्खे बालीको उब्जनी रोकिने र बर्खे बाली नै उब्जाउन नसके बर्षभरी खाने उपाय रोकिने हुनाले ‘हर हर महादेव पानी देऊ’ नभनी सुखै पनि छैन कैयन नेपाली किसानहरूलाई। सिञ्चाई कुलो नपुगेका पहाडी सुर्कासुर्कीमा त बर्खे झरीकै भरमा खेती गरिने बाध्यता पनि छ। 

तर बर्षै पिच्छे बाढी पहिरोको बितण्डाले सिर्जना गर्ने सन्त्रास र रुवाबासी हेर्ने हो भने चाहिँ बर्षातले खुसी होइन खतरा ल्याउने गरेको देखिन्छ। त्यो नभई नहुने चिज, कतिपयका लागि बाच्ने आधार अर्थात् त्यो बर्खा मास आशा लिएर आउँछ कि अत्यास ? पहाडका सुक्खा जमिन भिजाएर अन्नको अभाव मेटाउन हो कि, उदण्ड भएर हजारौंको घरबास उठाउन र सैयौँको ज्यान लिएर जान आएको जस्तो पनि लाग्छ।

बाढी, पहिरो प्राकृतिक प्रकोपसँग मानिसको केहि चल्दैन। रोकथामका उपायहरु अपनाउन मात्र सकिन्छ। नेपाल मात्र होइन विश्वका विकशित देशहरुमा पनि बाढी पहिरोले ल्याउने परिणाम उस्तै हो। फरक के हो भने सचेतता, पूर्वतयारी र उद्दाका कामहरु विकसित देशमा छिटो र प्रभावकारी हुनसक्छन् ।


हाम्रो देश नेपाल बर्षायाम सँगै बाढी पहिरोको उच्च जोखिममा छ र रहँदैआएको छ। यो बर्षौँदेखिको नियमितता भएकोले थाहा पनि छ, अनुमान पनि छ तर न्युनिकरण छैन। यस्तो किन हुँदै आएको छ र भइरहेको छ ? कतै हामी पूर्वतयारीमा चुकेका त होइनौँ ? बर्खा पनि सकियो संकट पनि सकियो भने झैँ गरी जोखिम न्यूनीकरणका कामहरु छेपाराको उखान भएका त होइनन् ? हुन् भने कमजोरी त्यहीँ भएछ भनेर बुझ्नुपर्ने होइन र !

हामीले विकास निर्माण भन्ने कुरालाई बुझेनौँ कि अलिक बढ्तै बुझ्यौँ ? ठाउँ कुठाउँ जमिनको प्रकार, अवस्थिति, क्षमता आदिको परिक्षण नै नगरी त्यसमाथि निर्माणका कामहरु थाल्दा जमिन थिल्थिल्याएर हामी आफैँ संकट बोलाइरहेका छौँ कि भनी फर्केर किन नहेर्ने ? हो, मुलुकलाई विकासोन्मुख अवस्थाबाट उँभो लगाउनु छ। विकास गर्नु छ। दूर दराज सम्म विकास र आधुनिकताका बाछिटा पुर्याउनु छ। यातायात व्यवस्थालाई सर्वव्यापी र सर्वसुलभ बनाउनु छ। त्यसो भन्दैमा नखन्नुपर्ने ठाउँमा जोखिम निम्त्याउने गरी खन्ने काम भएका त छैनन् ?


घर घर बाटो पुर्याउने स्थानीय निकायको विकास मोडेल प्रसंशायोग्य हुँदाहुँदै पनि कुन ठाउँ, कस्तो जमिन र कस्तो माटोमा खनिएको बाटो दिर्घकालिन हुन्छ र भू – क्षयीकरणको सम्भावना न्यून हुन्छ भन्ने प्राविधिक परिक्षण र विश्लेषण कत्तिको भएका छन् ? भएका छैनन् भने, त्यो ठाडो गल्ती हो। भएका छन् र पनि डोजर कुदाएकै कारण, जमिन खनिएकै वा खोतलिएकै कारण पहिरोको जोखिम देखा परेको छ भने विकल्पको अध्ययन जरुरी छ। 

हाम्रो देशका भीर पाखामा बसेका वस्तीहरु वैज्ञानिक दृष्टिकोणले पनि जोखिमपूर्ण छन्। जस्को जग्गा जुन पाखोमा छ त्यहीँ घर बनाउनुपर्ने बाध्यता एकातिर छ। पछिल्लो समयमा जग्गाका एजेण्टले अध्ययन र परीक्षण बिना नै भिर पाखामा समेत प्लटिङ गरी घँडेरीको विस्तार गरेका कारण पनि पहिरोको जोखिम बढेको हो भन्न हिच्किचाउनु पर्दैन।

खोला, नदी किनारमा बसेका वस्तीको मापदण्ड तथा खोला नदीको उच्च बहावको रोकथामका पूर्वतयारी, नियन्त्रण आदिमा लापरवाही पनि बर्षेनी खतराको घण्टी बजाउँदै आउने गरेका तथ्यहरु हाम्रा सामु लुकेका छैनन् ।

विकसित देशहरूमा जोखिमका नजिक वस्तीहरु हुँदैनन्, भए सार्दछन्। खेती गरिने जमिन घँडेरीमा रुपान्तरण हुँदैनन्। घर घरलाई अनुकुल हुनेगरि बाटो खनिँदैनन्, बरु बाटोका अनुकुलता हेरेर घर बनाइन्छन् । कुनै विशेष सम्रचना निर्माण गर्नुपर्ने भएमा केवल खाली ठाउँ हेरेर जग खन्न हतारिँदैनन्, बरु त्यहाँको प्रकृति, परिवेश, वातावरण र भूपरिक्षणको चरणबद्ध कामहरु विज्ञहरुबाट सम्पन्न भएपछि योजनाबद्ध ढङ्गले सम्पन्न गर्छन्।

उनीहरूलाई कुन सरकारको पालामा कस्को अगुवाइमा बनेको भन्ने कुराले भन्दा त्यसको समग्र दीर्घकालीन प्रभावले ठूलो अर्थ राख्ने विश्वास हुन्छ। तसर्थ प्राकृतिक प्रकोप र धनजनको क्षतिबाट उनीहरू उच्च जोखिममा देखिँदैनन्। यहाँनिर कतिपयलाई अरुको कुरा जोडेर ठूलो पल्टियो भन्न सक्नुहोला, तर राम्रा र हितकारी कामहरु अरुबाट पनि सिक्दा के हुन्छ ?

बर्षात् सँगै नेपालीलाई आइपर्ने बिपदबाट बच्ने उपाय सोच्न अब पनि ढिलो गरियो भने हामी आफैँले काल निम्त्याएको ठहर्छ। खुकुलो माटो भएको भिरालो जमिन जहाँ पहिरोको जोखिम छ, त्यस्तो ठाउँमा नयाँ घर बनाएर वस्ती विस्तार गर्न रोक्नुपर्छ। त्यस्तो ठाउँमा भएका पुराना वस्तीलाई संकट आउनुअघि नै सुरक्षित स्थानमा सार्नुपर्छ। बर्खामा उर्लेर आउने खोला, नदी छेउछाउमा वासस्थान वा व्यवसाय स्थल निर्माण गर्दा नदिको उच्च बहाव र कटानको पर्याप्त अनुमान र अध्ययन गरी विज्ञको सुझाव मुताबिक सुरक्षित हुने ठाउँमा मात्र गर्नुपर्छ।

हाल भएका वस्ती वा बजार कत्तिको सुरक्षित छन् बिज्ञबाटै अध्ययन र अनुमोदन गराई जोखिम देखिए बेलैमा स्थानान्तरण गर्नुपर्छ। त्यसो नगरे बर्षैपिच्छे आउने दुखद खबरबाट छुटकारा मिल्ने छैन। धेरै ठाउँमा असावधानी पूर्वक संचालन गरिएका खानीहरूले पनि प्रलय निम्त्याएका छन्। कतिपय ठाउँमा विकासका पूर्वाधार निर्माण गर्ने हेतुले खनिएको‌ जमिन लच्किएर, भासिएर, बगेर पनि जोखिम बढेको खबर ठाउँ ठाउँबाट आएका छन्। त्यसको रोकथाममा विशेष ध्यान दिनु अत्यावश्यक छ। बोटबिरुवा र वन जंगल सम्रक्षण र विस्तार गर्नु जरुरी छ। 

अचेल मानव ब्यवहारले प्रकृति धेरै रिसाएको भान हुन थालेको छ। प्रकृतिलाई प्राकृतिक स्वरुपमै रहन दिनु मानवीय हितको हेतुले उत्तम हुन्छ। प्रकृतिलाई तहसनहस पारेर बेसी ढर्रा पार्नु मात्र पनि विकास होइन। विकास अपरिहार्य छ, तर बर्खामा भत्किएर, बगेर झन्  ठूलो रँडाको सिर्जना गर्ने पाराको अदुरदर्शी विकासको परिणाम सुखद् छैन र हुने छैन। सरकारले यसतर्फ विशेष चासो र ध्यान नदिई हुन्न। स्थानीय निकाय, परियोजनाका अधिकारीहरू र सम्बन्धित ठाउँका बासिन्दाको पनि यसमा त्यत्तिकै अहम् भूमिका रहन्छ।