स्याङ्जाको सभापतिमा थापा विजयी

-


     सफल आवाज    
     मंसिर ११ गते २०७८ मा प्रकाशित


वालिङ, ११ मङ्सिर । नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो ।

विजयी थापा संविधानसभा सदस्य हुन भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित भए ।

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गरे । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाए भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गरे ।