गण्डकी प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा बैठक जारि

-


     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित


पोखरा १ पुस । गण्डकी प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा बैठक बुधबारबाट पोखरामा जारि छ ।

बैठकमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभत्तले गण्डकी प्रज्ञा प्रतिष्ठानको क्रियाशिलताप्रति खुशी व्यक्त गर्दै प्रतिष्ठानले जग बसाउँदैछ भन्ने आभाष गरेको बताए । ‘अहिले जग हाल्ने समय हो, मलाई प्रतिष्ठानले जग बसाउँदैछ भन्ने आभाष भएको छ, जग जति बलियोसँग हाल्न सक्नुहुन्छ त्यति मजबुत हुन्छ’ उनले भने।

गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन र चयन प्रक्रिया प्रति आफ्ना केही विमती रहेको भएपनि प्रतिष्ठान गठन पश्चात प्रतिष्ठानले गर्ने कार्यमा सदैव साथ रहेको र आगामी दिनमा समेत रहने बताए। प्रतिष्ठान प्रारम्भीक अवस्थामा रहेकोले भोली फेरी विमती आउन नदिन विधानलाई परिमार्जन गर्न उनको सुझाब छ ।

प्रतिष्ठानले देखेका सपना सुन्दर भएकोले ती सपना पुरा गर्न सबैजना दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड थियो । ‘खोज अनुसन्धान गर्ने कार्य प्रतिष्ठानले गर्नुपर्छ, प्राथमिकता केलाई दिने हो भन्ने ध्यान दिनुपर्छ’ उनले थपे। प्रतिष्ठानका कार्यक्रम गण्डकी प्रदेशका सबै ठाउँमा विकेन्द्रित हुनुपर्नेमा समेत उनको आग्रह छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानले छोटो समयमा हासिल गरेको उपलब्धी प्रति प्रशंसा गर्दै अबका दिनमा अवसर सँगै चुनौती समेत रहेको बताए । ‘सबैको काँधमा ठुलो जिम्मेवारी छ, अवसर उतिकै छ, चुनौती पनि छन्, तपाईहरुले सही ठाउँमा राखेको पाइलाले यसको भविष्य सुन्दर हुन्छ’ श्रेष्ठले भने । गण्डकी प्रदेशको सिंगो वाङमय क्षेत्रको विकास गर्न यहाँ रहेका वाङमयिक संस्थासँग समन्वय गरेर कार्य गर्न उनको सुझाब छ ।

तीन दिनसम्म चल्ने तेस्रो प्राज्ञ सभा बैठकले केही महत्वपूर्ण निर्णय गर्ने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।