कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीको लागि साझेदारी

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत् नमस्ते पेमा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतीय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र एउटा शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत् ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैकिङ, सी एएसबीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको कामना सेवा विकास बैंकले जनाएको छ ।