कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकसवन पेमेन्ट सोलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र फोकसवन पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन-स्टोर भ्यालु’ डिजिटल वालेट हो । जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखेर तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरिद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन् । टेलिकम टप-अप, इन्टरनेट र बिजुलीको बिललगायतको बिल तिर्न सकिनेछ । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक-पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएको छ ।