पोखरा उपत्यकामा जलपन्छी गणना सुरु

-


     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित


पोखरा, २७ पुस । पोखरामा आजदेखि जलपन्छी गणना गर्न सुरु गरिएको छ । सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको जलपन्छी गणना आजदेखि सुरु गरिएको हो ।

जलपन्छीको गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको पोखरा पन्छी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले बताए । घिमिरेका अनुसार सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलिसम्म जारी रहने उनले बताए ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ संस्थाको सहभागिता हुने गर्दछ ।

सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपन्छीहरूको अनुगमन र गणना गर्ने गरिएको उनले बताए । यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपन्छीहरूको गणना गरिने छ ।

दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा सुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केही पथ प्रदर्शकहरु, नेपाल पन्क्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पन्क्षी समाजको संलग्नतामा गर्दै आएको छ ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपन्छी गणना कार्यक्रम गरिने टाइगर माउण्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए ।

यसवर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पन्छी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पन्क्षी संरक्षण संघ पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए ।

अहिलेसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।