महिला पर्यटन व्यवसायी मञ्च ओटेफको चौथो साधारण सभा सम्पन्न

-


     सफल आवाज    
     पौष २९ गते २०७८ मा प्रकाशित


पोखरा, २९ पुस । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को चौथो साधारण सभा सम्पन्न भएको छ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले कार्यक्रमको उद्घाटन गदै पर्यटन क्षेत्रमा महिलाको योगदान उल्लेखनीय रहेको तर मूल्यांकन हुन नसक्दा विभिन्न अवसरबाट बञ्चित हुनुपरेको बताए ।

प्रकृतिले वरदान दिएको शहर पोखरामा पर्यटकको बसाइ लम्बाउन थप पर्यटकीय गतिविधि आवश्यक रहेको औल्याउँदै सांसद पहारीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । पर्यटन प्रवद्र्धनका लागि निजामति कर्मचारीलाई दुई दिन विदा दिने नीति कार्यान्वयन गर्न पनि उनको आग्रह थियो ।

संघीयता आएपछि व्यवस्था बदलिएको तर जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए । विकासमा ध्यान नदिएर जनताको करबाट सांसदको सेवा सुविधा बढाउनु उचित नभएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले कोभिडका कारण पर्यटन प्रवद्र्धनको बजेट कटौती भएको र सिमित बजेटले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न चुनौती रहेको बताए ।

वडाका वडा अध्यक्ष जगत पहारीले पर्यटकीय शहर पोखरामा महिला व्यवसायीले विभिन्न गतिविधि सहित पर्यटन प्रवद्र्धनको कार्यक्रम गर्दै आएको बताए । उनले पर्यटन विकासका लागि व्यवसायी र स्थानीय सरकारबीच समन्वय र सहकार्यको आवश्यता औल्याए ।

नेपाल पर्यटनबोर्डका पूर्व सदस्य बासु त्रिपाठीले पर्यटनमा योजनागत नीतिको आवश्यकता औल्याए । पर्यटन क्षेत्रका लागि नीतिगत तहमा महिला व्यवसायीको खाँचौ औल्याउँदै पर्यटनका विविध विषयमा ओटेफले छलफल कार्यक्रम चलाउनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का सचिव तारानाथ पहारीले कृषि पछिको पर्यटन भनेपनि अझै प्राथमिकतामा पर्यटन पर्न नसेकेको बताए । राज्यले कृषिमा जस्ते सस्तो र सुलभ व्याज दरमा पर्यटन व्यवसायीलाई कर्जा उपलब्ध गराउन सके पर्यटन क्षेत्रका व्यवसायी स्थापित हुन सहज हुने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ का कारण पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु पूर्ण रुपमा गर्न नसकिएको जनाउँदै व्यवसायी महिलालाई स्वास्थ्य सचेतना, योग ध्यान, सदस्यको क्षमता दक्षता अभिवृद्धिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई भने निरन्तरता दिएको बताइन ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष मिना भटटराई, संस्थाका सल्लाहकार नर्मला कँडेल, संस्थापक अध्यक्ष जमुना पराजुली लगायतले बोलेका थिए ।

उक्त साधारण सभाको बन्द सत्रमा संस्थाका महासचिव ममता न्यौपाने वार्षिक प्रगाति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मि लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको संस्थाका उपाध्यक्ष उमा भण्डारीले जानकारी दिइन।