सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न, ६.०५ प्रतिशत लाभांश वितरण गर्ने

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न भएको साधारणसभामा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फतसमेत एकैसाथ सञ्चालन भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्ब तीन करोड ४४ लाख ३९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६.३९ बराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकमको दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।