विदेशिएका नेपालीका लागि सरकारले उच्च ब्याज दिने ऋणपत्र ल्याउँदै, कहिलेबाट हुन्छ बिक्री खुला ?

-



     सफल आवाज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । वैदेशिक रोजगारीसँग जोडिएका नेपालीहरूका लागि सरकारले चलनचल्तीको भन्दा उच्च ब्याज दिने गरी ऋणपत्र जारी गर्ने भएको छ।

सरकारले वार्षिक साढे १२ प्रतिशत ब्याज दिने गरी ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो।

यो ऋणपत्रमा तोकिएको ब्याज अहिले नेपाली वित्तीय बजारमा प्रचलित ब्याजदर (मुद्दती निक्षेपमा अधिकतम ११.०३%) भन्दा बढी हो।

वैदेशिक रोजगारीमा गएकाले भने बैंकमा निक्षेप राख्दा यसमा थप एक प्रतिशत गरी कुल १२.०३% सम्म ब्याज पाउने व्यवस्था गरिएको छ।

ऋणपत्र पाँच वर्षपछि परिपक्व हुनेछ। अर्थात् लगानी गरेको रकम ऋणपत्र खरिदकर्ताले पाँच वर्षमा फिर्ता पाउनेछन्।

यसबीच पाँच वर्षसम्ममा वार्षिक साढे १२ प्रतिशतको दरले जम्मा लगानी गरेको रकममा थप साढे ६२ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन्।

सरकारले यो बचतपत्रको बिक्री आगामी जेठ १८ गतेबाट खुलाउने भएको छ।

यसका लागि आवेदन दिने अन्तिम मिति असार ६ सम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका र विदेशमा रोजगारी गरेर फर्किएका नेपाली नागारिक तथा विदेश बस्ने गैरआवासीय नेपालीले पनि यो ऋणपत्रमा लगानी गर्न पाउनेछन्।

बिक्रीपछि धितोपत्र बजारमा समेत सूचीकृत हुने भएकाले पाँच वर्षभन्दा अगाडि नै पनि लगानीकर्ताले चाहे दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज) मार्फत यसलाई बिक्री गर्न सक्नेछन्।