सरकारलाई झुकाउने, कुनै समायोजन स्वीकार नगर्ने उपसचिव पाेखरेल किन असन्तुष्ट ?

-


     आरजू विष्ट सल्यानी    
     जेठ २८ गते २०७९ मा प्रकाशित


जीवनभर अन्याय र विभेदमा परेको, पारेको अनुभव सुनाउने र असन्तुष्टि व्यक्त गर्ने शिक्षा सेवाका उपसचिव हाल मन्त्रालयको उपसचिव छन् । कर्मचारी समायोजनको नाममा राज्यले गरेको ज्यादती र अन्यायको विरुद्धमा एक्लै संघर्ष गरी सामाजिक तथा प्राकृतिक न्यायको पक्षमा राज्य, सरकारलाई झुकाएर कुनै समायोजन नस्वीकारेर यथावत जागिरमा रहेका ईश्वरीप्रसाद पोखरेल किन सधैं असन्तुष्टि व्यक्त गरिहन्छन् ? असन्तुष्टिका विरुद्धको आक्रोस हो वा न्यायसंगत र तथ्यगत आरोप हो ? यसका बारेमा आजको यस संस्करणमा पोखरेलसंग सफल आवाजले गरेको संवाद यहाँ प्रस्तुत गरएिको छ ।

राज्य, सरकार र नेतृत्व नै नभएको नेपाली सार्वजनिक प्रशासन तपाईको आरोप किन ?

२०७५ फाल्गुणमा गरिएको कथित कर्मचारी समायोजन राज्य नै पक्षपाती भएपछि अस्वीकार गरेको हुँ । तत्कालीन शिक्षा मन्त्री गिरीराजमणि पोखरेल र सचिव खगराज बरालको मन्त्रालय तथा सेवाका कर्मचारीको नेतृत्व गर्ने योग्यता र क्षमताको कुरै गर्न परेन । मैले खुला रुपमा अन्यायपूर्ण समायोजनमा जाँदिनँ र जागीरबाट हटाइएमा हट्न तयार छु भनी लिखित निवेदन दिएको पनि हुँ । तर २०७६ असौज मसान्तसम्म कुनै प्रत्यत्तर भएन । अचानक शिक्षा सचिवमा आएका महेश्वर दाहालको निर्देशनमा हो वा महानिर्देशक बाबुराम पौडेलको आफ्नै सनकमा हो, २०७६ कार्तिक १ गतेदेखि अन्यायपूर्ण रमाना काटिएछ ।

नेपाली सार्वजनिक प्रशासनलाई अभिभावकीय भूमिका दिने राज्य, सरकार र नेतृत्व नै विकास भएको छैन भन्ने धारणा राख्ने मलाई यो घटनाले अझ बलियो बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिरो हुन चाह्ने तर प्रशासकीय नेतृत्व गुण र कार्यशैलीको क्षमतामा पूर्ण जिरो हैसियतका मन्त्री लालबाबु पण्डित र राजनैतिक आशिर्वादमा आफूलाई अर्कै दुनियाबाट आएको ठान्ने उक्त मन्त्रालयका सचिव दिनेश थपलियाको अराजकीय, पक्षपाती शासनको शिकारले घाइते बनाएको थियो । आफ्नो मन्त्रालयको सेवालाई अमानवीय तथा अन्यायपूर्ण समायोजनलाई चुँइक्क एक शब्द नबोली दासताभावलाई मलजल गर्ने शिक्षा मन्त्री गिरीराजमणि पोखरेल र सचिव खगराज बरालको खलनायकत्वको कार्यव्यवहारले मलाई राज्य, सरकार तथा नेतृत्वप्रति पूर्ण निराशा र विद्रोही बनाएको हो ।

के नेतृत्वप्रति कुनै आशा तथा विश्वास नै रहेन ?

राज्य, सरकार तथा मन्त्री, सचिव लगायत आफूमाथिका पदाधिकारी सबैले आफ्नो जन्मदेखिको बल लगाएर जीवनभर अवसरविहिन बनाउँदै आएको र न्यायको आवाज उठाउँदा सधैँ सधैँ पिडामा पिल्सिएको एक अभागी नेपाली कर्मचारी आफू हुँ भन्ने लाग्दछ । मेरो इतिहास र न्यायिक आवाजको यथार्थता नबुझी रमाना काट्न लगाउने र मलाई प्रारम्भमा शिक्षा सेवाका रुपमा तपाईलाई चिन्दिनँ र स्थानीय सेवाको हो भन्ने शिक्षा सचिव महेश्वर दाहाल नै पछिल्लो अवधिमा कुन्नि किन हो ? मेरो पक्षमा दृढतापूर्वक अभिभावकीय भूमिकामा उभिन पुगे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा माननीय हृदेश त्रिपाठीज्यूको बहालीले धेरै सहृदयीभाव बोक्यो । संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइराला प्रारम्भमा अति कठोर, निरंकूश तथा अव्यवहारिक देखिए पनि लगातारको संवाद र विवादले अन्ततः वहाँलाई सकारात्मक निर्णयमा पुरायो । प्रधानमन्त्री कार्यालयसहित सबैतिरका शिर्षस्थ नेतृत्वहरुमा ढिलो गरी पलाएको सद्बुद्धि र सद्भाव तथा आत्मसमीक्षाको चेतनाशील विवेकले अन्तमा मलाई कारवाही गर्न हिच्किचाएर केही सहयोग, न्याय गरेको अनुभव भयो । राज्यबाट देखावटी नै सही अभिभावकत्व बहन गरी ८३ दिनपछि सडक छापबाट झिकेर अस्थायी निकासको रुपमा संघीय तहमा यथावत राखियो । २०७६ पौष २३ गतेबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुनः हाजिर गराएर जागीरको निरन्तरता दिइयो ।

राज्य, सरकार तथा नेतृत्वप्रति अझसम्म पनि घृणा किन नि ?

कार्यस्थलमा दलीय संलग्नता, आग्रह पूर्वाग्रह तथा प्रशासनिक विभेदको दवदवाले जागीर साँच्चै नै पिडादायी रह्यो । कार्यस्थलमा राजनीतिक र प्राविधिक विज्ञहरुको पनि सही मूल्यांकन कहिल्यै हुन सकेन । नियमित कार्य गर्नेहरुको कार्यलाई वैधता दिने र प्रोत्साहन दिने समूहगत र संस्थागत उत्प्रेरणा कहिल्यै भएन । पेसागत समुन्नतिका लागि निरीक्षण क्षेत्र, जिल्ला तहमा सम्पादन गरेका अनेकौँ सिर्जनशील कार्यहरुले मन्त्रालय तहको नेतृत्वको ध्यानाकर्षण नहुनु नगर्नु नै कार्यस्थलका कर्मचारीहरुको मनोबल गिराउनु र क्षमता वृद्धि नहुनु र प्रोत्साहन नगरिनु हो । तर सार्वजनिक सेवामा भएका व्यक्तिलाई दिइने जश, श्रीवृद्धिका प्रशंसा र बौद्धिक सम्पत्तिको प्रवर्धनले राज्य, सरकार तथा नेतृत्वलाई बलियो पार्दछ भन्ने चेतना दलीय राजनीति र प्रशासनमा कहिल्यै पाइएन ।

जीवनमा एउटा के कुरा थाह छ भने, जुनसुकै सेवाका फाँट, शाखा, पदाधिकारी वर्ग तथा महाशाखा र विभागहरुले गरेका कार्य सम्पादनको अन्तिम पुरस्कार चाहिँ उच्चपदस्थ पदाधिकारी वर्ग तथा अन्ततः मन्त्रालयका सचिव, मन्त्रीहरुले नै पाएका हुन्छन् । सत्य, तथ्यका भोगाइ धनी भूपि शेरचनको हामी पैताला हौँ भन्ने कविता त्यसै सिर्जना भएको होइन ? निधार, घाँटी, मुख सबै संयन्त्रका शिर्षस्थ नेताहरु नै हुन्छन् । जनता तथा तल्लो तहका कर्मचारीहरु फगत पानीका थोपा, पर्दा पछाडिका अँध्यारो पाटोका बेनाम सिल्पीहरु ह्ुन्छन् । तापनि कार्यालय प्रमुखहरु, उच्चपदस्थ पदाधिकारीहरु, मन्त्रालयका सचिव तथा मन्त्रीहरुबाट मेहनती र इमानदार कर्मचारीप्रति उपेक्षा, उदासिनता र असहयोगी व्यवहार किन ? मेरो जीवनभर प्रश्न रहने गरेको छ । आजसम्म कुनै उत्तर पाएको छैन ।

मन्त्रालयले पेसागत सम्बन्ध विकास तथा अभिभावकीय नेतृत्व लिन नसक्नुको कारण के होला ?

मेरो जीवनको सेवागत कार्यचरणमा २५ वर्ष पार हुँदा दोस्रो जन्मका रुपमा मन्त्रालयमा संगठन संरचनाको नीतिगत व्यवस्थापनमा प्रवेश भएको अनुभव गर्दछु । जागीरको २५ वर्षमा कुनै महत्वपूर्ण जिम्मेवारी र अवसर तथा वृत्ति विकास, पुरस्कार र प्रोत्साहन सरकारको नेतृत्व तहबाट नपाएपनि, आफ्नोतर्फबाट पेसागत स्वाभीमान र कार्यक्षमतामा कुनै कमीकमजोरी हुन दिइनँ भन्ने लाग्दछ । राज्यबाट सिर्जित विभेदकारी दासताको कथित कर्मचारी समायोजन अस्वीकार गरेका कारण हाजिरसम्म हुन नदिएर सडक छाप बनाइएको पिडित कर्मचारी पनि हुँ । मेरो भोगाइमा नेपालमा विधि, कानूनको आधारमा शासन चल्नुको सट्टा शासकको विधिमा अपराधी प्रणालीको नेतृत्व चलिरहेछ ।

राज्य, सरकार तथा नेतृत्व बेइमान हुँदाको परिणाम नै कर्मचारीहरु पनि चोरबाटोबाट अदालत पुग्ने तथा त्यहाँबाट वैध, अवैध तरिकाबाट न्याय पाएको कागजको प्रमाण ल्याउने विकृति मौल्याएको छ । दादागिरी गर्ने, जीउज्याजको दाउ लगाउने र लड्ने, भिड्नेहरु तथा सोर्सफोर्स र सम्झौँतामा बिचौलियाको राजलाई प्रोत्साहित गरिदोँ छ । यसरी राज्य प्रदत्त अधिकारहरुको व्यापकतम दुरुपयोग गर्न, गराउन सक्नेहरुका लागि नै यो मुलुकमा फलिफाप हुन्छ । सत्ता, शक्ति र साधनस्रोत हुनेहरुलाई कुनै ऐनकानूनले पनि केही प्रभाव पार्दो रहेनछ ।

जीवनभरको नकारात्मक सिकाइमा कथित कर्मचारी समायोजन कालीन राज्य शासकको पक्षपाती व्यवहारले देशमा पिल्सिने निमुखा जनताहरु तथा बेदाग र निस्वार्थ तथा तटस्थ कर्मचारीहरु हुन् भन्ने तथ्यलाई प्रमाणित ग¥यो । यो देश पूर्ण रुपमा अन्याय र अत्याचारको आहालमा फसेको छ र यस्ता अविवेकी तथा पक्षपातीहरु नै राज्यका जिम्मेवारीबाट विभूषित हुन्छन् भन्ने स्पष्ट सिकाइ मलाई हुन गयो र सकारात्मक प्रभाव परेन ।

यसर्थ पनि कथित समायोजनको अन्यायको गाँठो फुकाउन मेरो हकमा प्रयास गर्ने तत्कालीन शिक्षा सचिव महेश्वर दाहाल,संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइराला र माननीय मन्त्री हृदेश त्रिपाठीको सहृदयी व्यवहार तथा निर्णयसमेतलाई असल अभिभावकीय पक्ष स्वीकार्न मेरो आत्माले मानिरहेको थिएन ।

मन्त्रालयले जीवनमा पदस्थापना र जिम्मेवारी तोक्दा कुनै रायपरामर्श गरेको सम्झना छ ?

जागीरको अस्थायी व्यवस्थापनको सन्दर्भमा तत्कालीन शिक्षा सचिव महेश्वर दाहालको तपाईलाई कुन अड्डामा, कहाँ रहेर कुन किसिमको काम गर्ने मन छ ? प्रश्न थियो । जीवनमा कुनै शाखा र विषयको माग गरिएन, जहाँ पठायो त्यही जाने र जे काम गर्न तोक्यो त्यही गर्ने गरियो । यसर्थ एउटा कुरा चाहिँ श्रीमान्ले राम्रोसंग स्मरण गर्नुहोला भनी सचेत गराएको थिएँ । सचिव ज्यू, म कुनै पनि अर्थमा खाली बसेर अविवेकी सुँगुरको झै जागीरे जीवन नष्ट गरी समय गुजार्न सक्दिनँ । जे जे काम गर भन्यो, त्यो त्यो काम गर्दा पनि विवेक गुमाउने कार्य कुनै पनि मूल्यमा म स्वीकार्न सक्दिनँ । कर्मचारी हुँदैमा बुख्याँचाको शैलीमा उपल्लो पदधारीप्रति जी हजुरीको दासताको आधारमा जागीर खाने पद्धति मलाई कहिल्यै स्वीकार्य रहेन र भविष्यमा पनि हुने छैन ।

यसर्थ सधैँ व्यस्त हुने र काम हुने स्थान तथा खोज अनुसन्धान गरिने क्षेत्रमा काम गर्ने अवसर प्राप्त भएमा राम्रो होला भनी जाहेरी गरेको थिएँ । श्रीमान् सरकारी कामको व्यस्तताले अध्ययन गर्न, लेख लेख्न तथा विचार प्रवाह गर्न फुर्सद न होला कि ? यसरी काममा संलग्न हुन सकेमा सरकार तथा पदाधिकारी वर्गप्रति कुनै समालोचना र टिप्पणीको समय उपलब्ध नहोला । अन्यथा काम नहुँदाको फुर्सदिलो समयको उपयोगले निरन्तरको अध्ययनबाट नयाँ नयाँ सिर्जना भइरहन्छ र सार्वजनिक गरिरहन म बाध्य हुनेछु । यिनै विषयलाई सोचेर, विचार गरेर उपयुक्त निर्णय गर्न सचिवलाई विन्ती बिसाएको थिएँ । मेरो वैयक्तिक इच्छाका विशेष माग जीवनमा कुनै रहेन र भविष्यमा पनि कहिल्यै हुने छैन । यसर्थ आफ्नो सुविधा अनुसार पदस्थापन र जिम्मेवारी दिन आग्रह गरेको थिएँ ।

मन्त्रालयमा जागीर कसरी पदस्थापन हुन् पुग्यो ?

सचिव ज्यूले जिज्ञासा राखेर राय लिएपनि मन्त्रालयको निर्णयको संयोग पनि कस्तो ? परेछ भने शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीमा पठाउने । त्यसै बमोजिम २०७६ पुष २७ मा गुणस्तर केन्द्रमा हाजिर भइयो । मन्त्रालयले राम्रो सदाशयताले नै मलाई केन्द्रमा पठाएको होला । तर कामकाजका लागि पठाइएको मनुवालाई निर्धारित कामको शाखा नै थिएन । अतिरिक्त पाहुनाका रुपमा खटाइएको थियो । तापनि जे होस् अध्ययन अनुसन्धानका काम हुने प्राज्ञिक प्रकृतिका कार्यको संयोजन गर्ने प्रकृतिको कार्यालय भएकोले सधैँ व्यस्त हुने र देशव्यापी खटिने र प्रशस्त सिकाइ हुने पूर्ण अपेक्षा थियो । तर कोभिडले २०७६ चैत्र ११ देखि २०७७ मंसीर १९ सम्म हाजिरका लागि सानोठिमीको केन्द्रमा बानेश्वरदेखि धाउन मात्र बाध्य पार्यो । कुनै प्राज्ञिक तथा अनुसन्धानका काममा सरिक हुन अवसर नै मिलेन ।

यसैबीच २०७७ कार्तिक २० गते जीवननै ठूलो खतरामा पर्ने गरी सडक दुर्घटनामा आफू परेँ । सरकारी तहमा सार्वजनिक सेवाको नेतृत्व र अभिभावकत्वप्रति नै पूर्ण आस्था हराएको र विश्वास मरेको थियो । नेतृत्वप्रति श्रद्धाभाव नभएको तथा पूर्ण घृणाभाव हुनाले ईश्वर प्रदत्त यी पवित्र हातहरू कुनै पनि विकृत र अपराधी मानसिकताका माहुतेहरूलाई नमस्कार गर्न तयार थिएनन् । तीहरुसमक्ष न्याय माग्दै हात फैलाउन आत्माले स्वीकृति दिदैँनथ्यो र घाइते भएको मन झुक्न मान्दैनथ्यो । अतः २०७६ पुष २७ पछाडि झण्डै १० महिना सिंहदरवार तथा मन्त्रालयमा नै गएको पनि थिइनँ ।

एकातिर ठूलो घटनामा परी जीवन बाँचेको, शरीर भरी चोटपटक लागेको तथा हाथ भाँचिएको, दाँत फुक्लिएको र सम्पूर्ण शरीर सुन्निएको थियो । अर्कोतिर शिक्षा सचिवमा अति शालीन, सहृदयीपनका गोपी मैनाली हुनुहुन्छ भन्ने गाँइगुँइ सुनेको थिएँ । धेरैले भनेका थिए, ईश्वरी जी ! मैनालीजस्ता पनि सचिव हुन्छन् भन्ने कुरा तपाईलाई अवश्य पत्यार नलाग्ला ? तर एक पटक जानुहोस् र साक्षात्कार गर्नुहोस् र परीक्षण आफैँ गर्नुहोस् । सबै एकै चरित्रका तथा मै हुँ भन्ने घमण्डी हुँदैनन् । तपाईप्रति वहाँबाट न्याय हुनेछ, धेरै मित्रहरुले सुझाएका थिए ।

यसरी नेतृत्वप्रति कुनै विश्वास नै नभएको अवस्थामा पनि २०७७ कार्तिक २३ गते म गोपीनाथ मैनालीको कार्य कक्षमा प्रवेश गरेँ । वहाँले मुखको मास हटाउन भन्नु भयो । मैले परिचय दिन नपाउँदै ईश्वरी जी ! ठूलो भाग्यले बाँच्नु भएछ । कहाँ हुनुहुन्छ ? के काम गर्दै हुनुहुन्छ ? सबै हाल खबर सोध्नु भयोँ । सबै घटनावलीको बेलीविस्तार सुनेपछि तलबभत्ता यही मन्त्रालयबाट नै भुक्तानी हो भने यही मन्त्रालयमा नै हाजिर हुनुहोस् भनी अनुमति पाएको थिएँ । तर प्रक्रिया मिलाएर काजफिर्ता हुँदा २०७७ मंसीर १९ भयो र २१ गतेदेखि मन्त्रालयको सदस्यका रुपमा दर्ज भएको थिएँ । साँच्चै जीवनमा पहिलो पटक शिक्षामा अभिभावक पाएको अनुभूति भएको थियो ।

मन्त्रालयमा जागीर पदस्थापन हुँदा पनि अभिभावकत्वप्रति आशंका किन नि ?

जीवनमा पहिलो पटक नेतृत्व तहबाट यति धेरै मानवीय भावना राख्ने तथा मायालु व्यवहारसाथ आत्मीयता दर्शाउने गोपी मैनाली सरप्रति पनि म पूर्ण कृतज्ञ र ऋणी छु भन्ने लाग्दैनथ्यो र धन्यवादसम्म पनि भन्न गएको थिइनँ । मन्त्रालयमा हाजिर भएको करीब १५ दिन पछि २०७७ पुष ८ गते श्रीमान् सचिवज्यूको कार्यकक्षमा पस्दा हालखबर सोधनी गर्दै भन्नु भयो ? कुनै कामको जिम्मा लिन कस्सो होला ईश्वरी जी ? मैले तीन वर्षदेखि आदत बिग्रिएको तथा काम नगरी हल्लिएर जागीर खाने बानी परिसकेको छ । के काम गर्न सकूँला र सर ? भनी हाँस्दै कार्य कक्षबाट निस्किएको थिएँ ।

तर सचिवज्यूले अभिभावकत्व बहन गर्दै, जिम्मेवारी तोक्नु भएछ । फलत : प्रशासनले २०७७ पुष ९ गते जनशक्ति विकास योजना तथा समन्वय शाखाको जिम्मेवारी तोकिएको पत्र थमाइदियो । शाखा पाएको र झण्डै तीन वर्षको अतिरिक्त बेकामी पदबाट मुक्त भएको खुशीयालीमा फुरूंग हुँदै शाखाको खोजी गर्न र सबै कर्मचारीसित परिचित हुने सपना बोकेर म दौडिएँ । तर बिडम्बना शाखा त कोमामा रहेछ । शाखा कुनै काममा क्रियाशील र सक्रिय रहेनछ । मलाई १० दिनसम्म न शाखा न त बस्ने कुर्ची नै दिइयो । भाग्यले २०७७ पुष १७ गते एक वटा कुर्सी टेबल, कम्प्युटर तथा प्रिन्टर भएको कक्षमा बसालियो । त्यो बाहेक शाखाको लागि न कुनै फोन, न कुनै यातायात साधन, न कुनै जनशक्ति तथा न कुनै विगतमा भए गरेका कामकार्वाहीका अभिलेखहरु उपलब्ध गराइयो ।

विडम्बना आजसम्म पनि शाखाको हालत उस्तै छ । जनशक्ति विकास योजना तथा समन्वय शाखाको पर्याय एक उपसचिव र उपसचिवको पर्याय शाखा बनेको अवस्थालाई चिर्दै २०७८ चैत्र २५ गते शाखा अधिकृत खटाएको पत्र पाएपनि २०७९ जेष्ठ २६ सम्म शाखा अधिकृतलाई बसाइ व्यवस्था र कार्य सम्पादनको जिम्मेवारी बहन गर्ने, गराउने वातावरणको पूर्ण अभाव छ । शाखाबाट सम्पादित दुई तीन वटा महत्वपूर्ण अनुसन्धानमूलक कार्यहरुले उच्च प्राथमिकतासाथ मन्त्रालयको ध्यानाकर्षण र आधिकारिकताको नेतृत्वदायी साथ, सहयोग नपाएको अवस्था छ ।

विशिष्ट प्राज्ञिक व्यक्तित्व महाशाखा प्रमुख हुनु र शिक्षा सचिवको प्रेरणादायी अभिव्यक्तिको विश्वासले आत्मबलमा टेवा पुग्ने बमोजिम जनशक्ति विकाससम्बन्धी शाखाबाट कार्य थालनी भएतापनि मैनाली सरबाट जुन गतिमा प्रोत्साहन प्राप्त भएको थियो । त्यही गतिमा अगाडि बढ्न नयाँ शिक्षा सचिव रामप्रसाद थपलिया ज्यूको आगमनले व्यवहारिक रुपमा साथ दिएन । एकातिर थपलिया सरको विश्वास प्राप्त गर्न र सहयोग लिन समय लाग्ने र कुरा बुझाउन केही कठिन थियो । अर्कोतिर कोभिड दोस्रोको लहरले मुलुकका सबै कामका गतिविधिहरु ठप्प पार्न बाध्य बनायो । शाखा पनि पूर्ण प्रभावित हुन पुग्यो । पछिल्लो अवधिमा सहसचिव डाक्टर हरिप्रसाद लम्साल, सचिव यादवप्रसाद कोइराला तथा राज्यमन्त्री बोधकुमारी माया यादव र मन्त्री देवेन्द्र पौडेलज्यूको केही चासो बढेको छ । हेरौँ, मन्त्रालयको जागीर कति सार्थक र उपलब्धिमूलक हुन्छ ? त्यसैका आधारमा अभिभावकीय दायित्व र आशंका वा विश्वास सावित हुनेछ ।