किन रोकियो ५ वाणिज्य बैंकको सेयर कारोबार ?

-


     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित


काठमाडौं, ५ असार । सञ्चालनमा रहेको ५ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ ।

अहिलेसम्म मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो । नबिल बैंकले बंगलादेश बैंकलाई १००:४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो ।

नबिलले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट सेयर कारोबार रोक्का भएको हो ।

यस्तै मर्जरमा जाने भएपछि मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार पनि रोक्का भएको छ । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको छ ।

जेठ २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरका लागि सम्झौता भएको थियो ।

२७ गते मर्जरका लागि सम्झौता भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००: ९० अनुपातमा मर्जर गर्न लागेको हो ।

यता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुवै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भएको हो ।

असार २ गते दुवै बैंक १:१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै बिहीबार देखि नै दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो ।

सबै बैंकलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले स्विकृती दिनुपर्ने छ ।