पोखरा बचतले गर्यो आफ्ना शेयर सदस्यको स्वास्थ्य परिक्षण तथा जिवन उपयोगी प्रशिक्षण

-


     सफल आवाज    
     असार ५ गते २०७९ मा प्रकाशित


पोखरा, ५ असार । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयरसदस्यहरुको स्वास्थ्य परिक्षण गरेको छ । संस्थाको बार्षिक कार्यक्रम अनुसार यही असार ४ गते शनिबार आफ्ना शेयरसदस्यहरु लगायत संस्थामा कार्यरत कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेको हो । उक्त जाँचबाट सदस्यहरुको मुटु, कलेजो, मृगौलाका साथै मधुमेह र युरिक एसिड सम्बन्धी स्वास्थ्य समस्या र अवस्थाबारे पत्ता लाग्ने बताइएको छ ।

स्वास्थ्य परिक्षणका लागि यु.आर.एल. ल्याबोटरीले सहुलियत दरमा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । सहभागीहरुको रगतको नमूना संकलनको लागि ल्याबोटरीका अध्यक्ष ठाकुर प्रसाद पन्तको नेतृत्वमा १५ जवना स्वास्थ्य प्र्राविधिकहरुले खटिएका थिए । पोखरा सभागृहचोक स्थित गिरी कम्प्लेक्समा रहेको यु.आर.एल. ल्याबोरटरीले यससगै हालसम्म ११५ वटा सामूहिक रक्त परिक्षण शिविर सहुलियत दरमा सञ्चालन गरेको अध्यक्ष पन्तले जानकारी गराए ।

रक्त परिक्षणका साथै कार्यक्रमका सहभागीहरुलाई जिवनोपयोगी जिवनशैली बारे प्रशिक्षण समेत प्रदान गरिएको थियो । सोही अवसर प्राकृतिक चिकित्सक डा. विनोद पौडेलले जिवनोपयोगी जिवनशैली र खानपानको बारेमा प्रशिक्षण दिएका थिए । रजहर प्राकृतिक चिकित्सालय, नवलपुरका निर्देशक एवम् विन्ध्यबासिनी प्राकृतिक चिकित्सालय पोखराका प्रवर्धक समेत रहेका प्रशिक्षक डा. पौडेलले मानिसले आफ्नो दैनिक आहारविहारलाई सही तवरले व्यवस्थापन गर्न सकेमा धेरै स्वास्थ्य समस्याबाट मुक्ति पाउन सम्भव रहेको सल्लाह दिए ।

संस्थाको शिक्षा उपसमितिको संयोजनमा आयोजित उक्त तालिम कार्यक्रममा संस्थाका १ सय ४० शेयरसदस्यहरु तथा संस्थामा कार्यरत २३ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कोभिड १९ को सन्त्रासका कारण लामो समयसम्म सबै शेयरसदस्यहरुलाई समेटी कुनै कार्यक्रम आयोजना हुन नसकिरहेको अवस्थामा संस्थाले आफ्ना शेयरसदस्यहरुको स्वास्थ्यको ख्याल राख्दै उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक शम्भुराज बास्तोलाले बताए ।

संस्थाका अध्यक्ष ई सुरेन्द्र बहादुर गोदारले सहभागीहरुले स्वास्थ्य प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा मात्र सही अर्थमा तालिमको औचित्य पुष्टि हुने कुरामा जोड दिदै प्रशिक्षक लगायत सहभागी सबै जनालाई धन्यबाद ज्ञापन गर्दै उक्त कार्यक्रमको समापन गरेका थिए ।

बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ४ हजार भन्दा बढी शेयरसदस्य रहेका छन् । कुल १० करोड ४८ लाख शेयरपूँजी रहेको उक्त सहकारीले आ.व. २०७७-०७८ मा २ करोड २९ लाख ६३ हजार खूद मुनाफा आर्जन गर्न सफल भएकोे संस्थाका कोषाध्यक्ष हिरामणि दहालले बताएका छन् ।

पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको पोखरा बचत सहकारीले पोखरा–८, सिर्जनाचोक र अमरसिंहचोक स्थित दुईवटा सेवाकेन्द्रहरुबाट समेत आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको छ । सदस्यहरुको सुविधाका लागि संस्थाले विभिन्न रेमिटेन्स सेवाहरु पनि प्रदान गर्दै आएको बताएकाे छ ।