सांग्रिला बैंकले केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने

-


     सफल आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित


काठमाडौं, ०७ असार । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने भएको छ ।

काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेकाले काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी बैंकले आफ्नो केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णयको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाण्डौ महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुरनिधि न्यौपानेले हस्ताक्षर गरेको जनाइएको छ ।

बैंक र महानगरपालिका बिच भएको सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय बैंकको कार्यालय समय विहान ९.३० वजे देखि ५ वजे सम्म सर्वसाधारणले सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सक्ने बताइएको छ ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडाैं महानगरपालिकाको प्रयासमा सहयोग पु¥याउने विश्वास बैंकले लिएको छ । महानगरले सांग्रिला बैंक लगायत अन्य बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता गरेको हो  ।