शेयरबजार सुधारको माग सहित आन्दोलनरत लगानीकर्ता र सेबोनबीच आज वार्ता हुदैं

-


     सफल आवाज    
     असार ९ गते २०७९ मा प्रकाशित


काठमाडौं, ९ असार । सेयर बजार सुधारको माग गर्दै आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्न सरकारले आज (बिहीवार) वार्ता गर्ने भएको छ । बुधवार माग सम्बोधनका लागि कार्यान्वयन समिति बनाएर बिहीवार वार्ता गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कार्यान्वयन समिति बनाएर जायज माग सम्बोधनका लागि काम गर्न सकिने बताएपछि समिति गठन गरिएको थियो ।

बजार न्यून बिन्दुमा आइपुगेको र यसमा चार करोड र १२ करोडको सेयर धितो सीमा कर्जा हटाउनेलगायतको १९ बुँदे माग राख्दै लगानीकर्ता तिलक कोइराला आठ दिनदेखि अनशनमा छन् ।

बुधबार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर तत्काल कार्यान्वयन गर्न सकिने बुँदालाई कार्यान्वयन गर्न समिति गठन गरिएको हो ।

आन्दोलनरत लगानीकर्तासहित अनशन बसेका तिलक कोइरालाको १९ बुँदे माग कार्यान्वयनमा लगानीकर्ताको तर्फबाट राधा पोखरेल, तुलसी ढकाल र उत्तम अर्याल तथा नेपाल धितोपत्र बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशकद्वय मुक्तिराज श्रेष्ठ र विनयदेव आचार्य रहने भएका छन् ।

थप समितिमा बाँकी दुईजना तिलक कोइरालाले चयन गर्ने लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए ।

‘अहिले एक किसिमको समिति गठन गर्न बोर्ड तयार भएको छ । अब हाम्रा साथीहरू उहाँहरूसँग बसेर निर्णय गर्ने र कार्यान्वयन हुने मितिसहित टुंगो भएपछि मात्र अनशन तोड्नुहुन्छ,’ उनले भने ।