सत्तामा रहनेले गरे शक्तिको भरमा मानवअधिकारको उल्लंघन

-



     सफल आवाज    
     असार २९ गते २०७९ मा प्रकाशित



पोखरा २९ असार । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) ले बुधबार २३ औं स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा मानवअधिकार एलाइन्स गण्डकी र कास्की शाखाले एलाइन्सको भूमिकाका विषयमा पोखरामा आयोजना गरेको अन्तक्र्रियाका सहभागिहरुले संक्रमणकालिन न्याय अझै सुनिश्चित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले मानवअधिकारको क्षेत्र व्यापक भएको बताए । उनले समाजमा कम चेतना भएका र सत्तामा रहेकाहरुले शक्तिको भरमा मानवअधिकारको उल्लंघन गरेको बताए । विकृति र विसंगतिका विरुद्ध ग्रामिण स्तरसम्म जनचेतना फैलाउन एलायन्स पहल गर्नुपर्ने उनको भनाई थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले विगतदेखि वर्तमान सम्म महिलाहरु बढी हिंसामा परेको बताउँदै त्यसको अन्त्य हुनुपर्ने बताए । नेपाल कृषि प्रधान देश भएपनि कृषकहरुले उत्पादन गरेका बस्तुले बजार नपाउनु, आवश्यक मल र बिउबिजन समयमै नपाउँदा उनिहरुको मानवअधिकार हनन् भएको पौडेलले बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले पार्टीमा विधि र पद्धति नहुँदा देशमा दण्डहिनता माैलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । १ बर्षको अवधिमा प्रदेशभर ५ सय १३ वटा मानवअधिकारका उल्लंघनका घटना भएको उनले बताए । अनुगमनका क्रममा स्थानीयतहरुमा मानवअधिकार उल्लंघनका घटना बढी हुने गरेको उल्लेख गर्दै उनले दलहरुले सत्ता भन्दापनि नागरिकको हितको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । एलाइन्सले राजनीतिक दलहरुलाई मानवअधिकारमैत्री बनाउन पहल गर्नुपर्ने उनको भनाई थियो ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले कम्युनिष्ट पार्टी मानवअधिकारको क्षेत्रमा काम गर्ने पार्टी भएको बताए । व्यवस्था बदलिएपनि अवस्था भने अझै उस्तै रहेको उनको भनाई छ । प्रदेश सरकारका मन्त्रीहरुले विकासका लागि खर्च गरिनुपर्ने बजेट आफ्ना बुबा–आमाका नाममा छुट्याएको भन्दै अधिकारीले आक्रोस व्यक्त गरे ।

एलाइन्सका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज रामचन्द्र पौडेलले एलाइन्सले स्थापनाकालदेखि नै गलत कार्यहरुविरुद्ध खबरदारी गर्दै आइरहेको बताए । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, एलाइन्स कास्कीका अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष गीता पौडेल, सदस्य शिव पौडेल लगायतले बोलेका थिए ।

२०५६ साल असार २९ मा स्थापना भएको मञ्चले देशका ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ । संस्थामा १ हजार ३ सय भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।