मस्कले आजबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



वाशिङ्टन डीसी, १८ कात्तिक । हालै ४४ अर्ब डलरमा ट्विटर किनेका स्पेसएक्सका मालिक एलन मस्कले आज शुक्रबारबाट ट्विटरका कर्मचारी व्यापक कटौती गर्ने भएका छन् ।

यसअघि कम्पनी आधिकारिक रुपमा आफ्नो हातमा परेसँगै मस्कले कम्पनीका सीइओ पराग अग्रवाल, सीएओ नेड सहगल तथा कानुनी तथा नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए । त्यसपछि नयाँ निर्देशक तथा मुख्य कार्यकारी बनेका मस्कले कम्पनीका सबै बोर्ड सदस्यलाई बर्खास्त गरेर एकल रुपमा कम्पनीको बोर्ड सदस्य बनेका थिए ।

उनले त्यतिबेलै कम्पनीका सबै पुराना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गर्ने योजना पहिले देखि नै बनाएको साथै अझै कम्पनीका ७ हजार ५ सय कर्मचारीमध्ये ७५ प्रतिशतलाई बर्खास्त गर्न सक्ने सम्भावना प्रबल रहेको बताएका द वाशिङ्टन पोस्टको एउटा रिपोर्टमा छापिएको थियो । 

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले आफ्ना कर्मचारीहरूलाई आफ्नो जागिर सुरक्षित छ वा छैन भन्ने कुरा शुक्रबार बिहान ९ बजे सम्ममा ईमेलमार्फत् जानकारी गराउने बताएको छ । कर्मचारीलाई पठाउन तयार पारिएको ईमेलमा लेखिएको छ, ‘ट्विटरलाई स्वस्थ बाटोतर्फ डोहोर्याउन हामी शुक्रबारदेखि हाम्रा विश्वभरका कर्मचारी काटछाँटको कठिन प्रक्रियाबाट गुज्रँदैछौं ।’