बैंकको ब्याजदर एकल अङ्कमा हुनुपर्छ: राष्ट्रिय व्यवसायी महासंघ

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले अहिले बैंकहरूले अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताए।

महासङ्घले बैंकको ब्याजदर एक अङ्कमा सीमित हुनुपर्ने जनाएको छ । बैंकहरुले सङ्कटको बेला ब्याज बढाएर सामान्य मानवीयता समेत ख्याल नगरेको भन्दै महासङ्घले लिलामीको ३५ दिने सूचनालाई बढाएर छ महिना बनाउनुपर्ने माग गरेको छ ।

“सङ्कटको अवस्थामा सामान्य मानवीयता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौँ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ ।

अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धितो लिलाम गर्ने सूचना ३५ दिन होइन कम्तीमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनुपर्छ ।”