
चितवन, ८ मंसिर । नेपालकै पहिलो मनकामना केबलकारको सञ्चालनको २५ वर्ष पूरा गरी २६औं वर्षमा प्रवेश गरेको छ । यो केबलकारले २०५५ मसिर ८ गतेदेखि नियमित सञ्चालन गरी हालसम्म १ करोड ७० लाख यात्रुलाई स्तरीय केबलकार सेवा प्रदान गरिसकेको छ ।
केबलकारको नियमित सञ्चालनपछि मनकामना र यस आसपासका प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइ यो क्षेत्रको व्यापार व्यवसायमा उल्लेख्य वृद्धि भएको कम्पनीको दावी छ ।
संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठको सोच अनुरुप केबुलकारले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पुर्याउँदै आएको र भविष्यमा निरन्तरता दिने बताएको छ ।
यसै अनुरुप कम्पनीले विगत लामो समयदेखि केबलकार रहेको चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिका प्रत्येकमा कुल आम्दानीको १-१ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जीर्णोद्धार लगायत विकास निर्माणका कामका लागि खर्चिंदै आएको छ । यसबाहेक भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपतका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको छ ।