समालोचना सम्मान अनुवादक डा. राकेशलाई प्रदान गरिने

-



     सफल आवाज    
     पौष २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ पुस । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा समालोचना सम्मान, २०७९’ साहित्यकार तथा अनुवादक डा. रामदयाल राकेशलाई समर्पण गर्ने भएको छ । उनी नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषाका समालोचक हुन् ।

उनले समालोचना विधामा ‘नेपाली कविता विभिन्न आयाम’, ‘नेपाली साहित्य विभिन्न आयाम’, ‘नेपाली समालोचना विभिन्न आयाम’ जस्ता पुस्तक लेखी प्रकाशन गराउनाका साथै नेपाली र मैथिलीभाषी साहित्यलाई हिन्दी एवं अङ्ग्रेजी भाषी पाठकसमक्ष प्रस्तुत गरेर विशिष्ट योगदान गरेका छन् । राकेशले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले  जानकारी दिए ।

लेखक लालानाथ सुवेदी र उनको परिवारले आफ्ना मातापिता पद्मकला–भीमप्रसाद सुवेदीको स्मृति तथा सम्मानमा यो पुरस्कार व्यवस्था गरेका हुन् । अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गरिन्छ । पुरस्कारको राशि ५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको उनले बताए ।