बीमितलाई ७५ रुपैयाँसम्म बोनस दिँदै एशियन लाइफ

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० माघ । एशियन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८/७९ का लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट माघ १० गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएको दर अनुसार गत २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरिएको छ । कम्पनीले सार्वजनिक गरेको दर अनुसार बीमालेखहरुले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्यूनतम ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस पाउने व्यवस्था गरेको छ । बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दावी, पूर्ण वा आंशिक अवधि भुक्तानी दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।