नाडाका मागहरुप्रति सरकार गम्भीर छ: अर्थमन्त्री पौडेल

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित


काठमाडौं, १० माघ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल नाडाको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको हो ।

छलफलका क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनहरुलाई उक्त वर्गीकरणबाट हटाउन आग्रह गरे । अर्थमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेटसम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिए ।

नाडा अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको तथा ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाइएको प्रतिबन्ध पनि केही समय अघि फुकुवा गरेकोमा आभार व्यक्त गर्दै सरकारकोयो निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए ।

यसैगरी राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था विद्यमान रहेको अहिले लाखौंको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाइरहेको अध्यक्ष थापाले थपे । उनले नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिब ३ हजार सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था रहेकोले यस्तो जटिल स्थितिको समुचित समाधानका लागि आग्रह गरे ।

यस्तै अटो लोनहायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशLल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनु पर्ने र चालु पुँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यवहारिक बुँदाहरुको संशोधन गर्नुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।

छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालमा भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्न इण्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्नेनेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त सम्भावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको भेटमा महासचिव उप्रेतीले काठमाडौं उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि समेत आग्रह गरे ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाबाट प्रस्तुत मागहरुका सम्बन्धमा सरकार गम्भीर रहेको र ती मागहरुको सम्बन्धमा पहल समेत भइरहेको जानकारी दिए ।