माओवादी केन्द्रको बैठक : केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

-



     सफल आवाज    
     श्रावण १९ गते २०८० मा प्रकाशित


काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहेकाे छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्।

बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ केन्द्रीय सदस्यले सो प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ । बिहीबारको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले दाहाल नेतृत्वको सरकारले थालनी गरेका सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका कामको समर्थन गर्दै पार्टी रुपान्तरणमा जोड दिएका थिए ।

बैठक यही असार १७ गतेदेखि सुरु भएको हो । हालसम्म ७४ सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् ।