
पोखरा, २४ साउन । पोखरा लेडी जेसीजले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह मनाउने भएको छ । साउन २६ देखि ३२ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जेसी लक्ष्मी कुँवर (लता) ले जानकारी दिइन् ।
‘महिला सशक्तिकरणका लागि हाम्रो अभियान’ नारासहित मनाउन लागिएको सप्ताह अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, विद्यालयमा स्टेशनरी सामग्री वितरण, सीपमूलक तालिम तथा असहाय बिरामीहरूलाई खाद्यान्न वितरण गरिने संस्थाका कार्यकारिणी उपाध्यक्ष एवं सप्ताह मूल संयोजक जेसी प्रमिला सुवेदीले जानकारी दिइन् ।
युवाहरूको जोस र जाँगरलाई समेटि संस्थाले आफ्ना सदस्यहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास प्रदान गर्नुका साथै स्थापना कालदेखि नै सामुदायिक विकास सम्बन्धी कार्य गर्दै आइरहेको सचिव जेसी अनिता खड्काले बताइन् ।
युवाहरुको जोस र जाँगरलाई समेटेर सन् १९८९ मा १८ देखि ४० वर्ष भित्रका क्रियाशिल र कर्मठ युवा नारिहरुको शसक्त शाखाको रुपमा पोखरा लेडी जेसीज स्थापना गरिएको थियो ।
विधिको शासन, विश्व बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै असल नागरिक बन्न र बनाउन जेसीजले उत्प्रेरित गर्दै गराउदै आएको छ ।
सदस्यहरुको लागि व्यक्तित्व तथा नेतृत्व विकासका साथै समाजमा केहि गरौं भन्ने उदेश्यले चारवटा कार्यक्षेत्रमध्ये सामुदायीक विकास क्षेत्रलाई कार्ययोजनामा राखेर सामुदायीक कामहरु गर्दै आईरहेको वर्ष २००७ की अध्यक्ष मीनु कुँवरले बताईन ।
वर्षभरि ८० देखि ८५ वटासम्मका कार्यक्रम गर्ने जेसीजले वर्षको एक पटक विशेष रुपमा सप्ताहव्यापी कार्यक्रम गर्ने परिपाटीलाई निरन्तरता दिएको छ ।
कार्यक्रम गर्नका लागि आफ्नै सदस्यहरुबाट संकलन गरेको रकम नै भएको र यसका लागि कतैबाट सहयोग नआउने कुँवरले बताईन । यस पटकको कार्यक्रमका लागि कम्तिमा ६ देखि ७ लाख खर्च हुने आकलन गरिएको छ ।