काठमाण्डौं, १७ भाद्र । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै संस्था बीच २०८० भाद्र १५ गते शुक्रबारका दिन मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ ।
उक्त सम्झौता पत्रमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका थिए ।
त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका केशब कुमार पौडेल रहने सहमति भएको छ ।
तनहुँ जिल्लाको बन्दिपुर-१, डुम्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको बताइएको छ ।