
पोखरा, १८ भदौ । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २० औं वार्षिक साधारणसभा एक कार्र्यक्रमका बीच सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा)ले पर्यटकलाई उपहार लैजानका लागि नेपालको चिनारी झल्काउने किसिमका समानहरू तयार गरी ठूलो योगदान गरेको बताए।
कोरोना महामारीसँगै आर्थिक मन्दी लगायतका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुर्नरुत्थानमा राज्यको सहयोग आवश्यक भएको बताउँदै उहाँले पर्यटन व्यवसायीका समस्याहरू सुनुवाई हुन नसकेको बताए । बन्दै गरेको पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रका विषयहरू समेटिनुपर्ने उनको भनाइ छ ।
भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परेको बताउँदै उनले यसले भारतीय पर्यटकको आगमनलाई प्रभावित बनाएको बताए। निर्माणाधिन पोखरा मुग्लीन सडक खण्डको ढिलासुस्तीले पोखराको पर्यटन प्रत्यक्ष प्रभावित भएको भन्दै उनले निर्माण कार्यलाई छिटो गराउन सबैको जागरुकता आवश्यक भएको बताए।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले पर्यटकलाई उपहारका सामाग्री तयार गरी पठाउँदा यसले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नविन पोखरेलले पर्यटन क्षेत्रको विकासका लागि हामीसँग यकिन तथ्यांक हुनु जरुरी रहेको धारणा राखे।
एगा पोखराका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले कोरोना, आर्थिक मन्दी लगायतका कारणबाट पर्यटन व्यवसायीहरू संकटमा परेको बताए। व्यापारका लागि सटरहरू महंगो र उनीहरूले नै कर तिर्नुपर्ने लगायतका अवस्थाका साथै बैंक तथा वित्तीय संस्थाको ब्याजदर लगायतका कारणले व्यवसाय धान्न नै मुस्किल पर्ने गरेको उनले बताए।
कोरला नाका सञ्चालनको कुरा पनि चलेको बताउँदै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा यो विषय टुङ्गोमा पुगे यसले समग्र गण्डकी प्रदेशको उन्नतिमा महत्वपूर्ण प्रभाव पार्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले नेपालको पर्यटकीय चिनारी दिने किसिमका समानबाट विश्वमाझ यहाँको प्रवद्र्धनमा एगाले महत्वपूर्ण योगदान पु¥याएको धारणा राखिन् ।
विभिन्न व्यक्तिलाई सम्मान
साधारणसभाका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ ।
त्यस्तै संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा संयोजन गर्ने व्यक्तिहरू बनभोजतर्फ उपाध्यक्ष गोकर्ण लम्साल, सामाजिक उत्तरदायित्वतर्फ कार्यसमिति सदस्य नारायण पाण्डे, प्रवद्र्धनात्मक अवलोकन भ्रमणतर्फ अध्यक्ष इन्द्रप्रसाद भण्डारीलाई सम्मान गरेकाे छ । त्यस्तै नयाँ सदस्यका रुपमा बाराही ड्रेश सपका भवनाथ सापकोटा, गोरखा हेण्डीक्राफ्टका कल्पना सापकोटा र केसी इम्ब्रोइडरी सपका अमृत केसीलाई सम्मान गरिएको थियो । यस वर्षको उत्कृष्ट पसल सजावटमा फेमस ड्रेशसपका हरिप्रसाद गौतमलाई सम्मान गरियो ।
एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको अध्यक्षता एवम् सचिव गीता ढकाल पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गोकर्ण लम्सालले गरेका थिए । कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले बोलेका थिए ।