अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुरु

-



     सफल आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित



ताप्लेजुङ, १८ भदौ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन ।

मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिनुभयो । लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडाै गएका छन् ।

पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उहाँले बताउनुभएको छ । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडाै ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।