
काठमाडौं, २६ भदौ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि राखिदै छ ।
सबै कार्यक्रम स्थगित
एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १ः३० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको नेता ज्ञवालीले जानकारी दिए । कार्यवाहक महासचिव ज्ञवालीले निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने बताए।
उनका अनुसार उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा राखिने भएको छ ।