गण्डकीमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ जारी

-



     आरजू बिष्ट सल्यानी    
     असाेज ५ गते २०८० मा प्रकाशित



पोखरा, ५ असोज । गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायीक पशुपालन फर्महरुले अबलम्वन गर्नुपर्ने गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको छ ।

मन्त्रालयले मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि भूमि व्यवस्था मन्त्रालयले स्नेहाज केयर ललितपुरसंग सहकार्यका लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दुबैबीचको सहकार्य अनुसार शुक्रबार मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सील प्रा.लि.को संयुक्त आयोजनामा सरोकारवालाहरुबीच छलफल सम्पन्न भएको जनाइएकाे छ ।

छलफलमा सहभागिहरुले पशु कल्याण र विशेष गरी गाईभैंसी कल्याणका विषयहरुमा बिस्तृत छलफल गरे । छलफलमा १९ जना पेशाकर्मी तथा १५ जना कृषकहरुको सहभागिता रहेको थियो ।

पशु कल्याण सम्बन्धी कार्य गर्नका लागि २०७२ सालमा ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापित स्नेहाज केयरले बितेका ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको जनाइएको छ ।

आवाजबिहिन पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुर्नस्थापनाका लागि विभिन्न गतिविधिहरु र कुकुरहरुको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम संचालन, रेविज रोगको उन्मुलनका लागि बृहत्तर रेबिज बिरुद्धको खोप कार्यक्रम हुदै आएको छ ।

छाडा तथा बेवारिसे गाई बाच्छाहरुको उपचार, उद्धार तथा पर्नस्थापना, पशु कल्याणका लागि बोट बिरुवामा आधारित खानेकुरा सम्बन्धी सचेतनामूलक सामूदायीक शिक्षा कार्यक्रमका गरिदै आएको जनाइएको छ । विद्यार्थीका लागि पशु कल्याण तथा मानवता सम्बन्धी सचेतना तथा ज्ञानमूलक शैक्षिक कार्यक्रमहरु गर्दै आएको उल्लेख छ ।

संस्थाले पशु कल्याणलाई समाजको सर्वमान्य मान्यताको रुपमा स्थापित गर्न तत्काल उपचारात्मक बिधिहरु संगसंगै अभियानलाई प्रभावकारी र दीगो बनाउने भनिएको छ ।

समन्वय र समझदारी गरेर राज्यका नीतिगत क्षेत्रहरुमा पशु कल्याणका विषयहरुलाई समावेश गर्नका लागि अभियान संचालन भईरहेको जानकारी दिईएको छ ।

अभियान अन्तर्गत गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जारी गरेको व्यावसायीक फर्महरुले अबलम्बन गर्नुपर्ने गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड २०७९ को कार्यान्वयनका लागि सहकार्य गर्न पाएकोमा खुसि लागेको स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुख डा.शोभा शर्मा र नेपाल फार्मर्स एडभाइजरी काउन्सिल प्रा.लि.का प्रवन्ध निर्देशक डा.बिमल कुमार निर्मलद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

बिज्ञप्तीमा मापदण्डले पशु कल्याणका ५ वटा मुख्य स्वतन्त्रताका कुराहरु उठाइएको छ ।

१.भोक, प्यास र कुपोषण हुन नदिने
२.डर, त्रास तथा तनाब हुन नदिने
३.भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने
४.पिडा, चोटपटक र रोगब्याधिबाट सुरक्षित राख्ने र
५.सामान्य प्राकृतिक व्यबहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको छ ।

मापदण्डमा दध उत्पादनका लागि पालिएका पशु बाहेक भारबहन प्रयोजनका लागि प्रयोग गरिने बहर, गोरु, राँगा भार तान्ने बाहेक थारो र अनुत्पादक पशुप्रति गरिने व्यवहार र विधिहरुका बारेमा उल्लेख छ । यस्तै छाडा र निबृत्त पशुको व्यवस्थापन सम्बन्धमा मापदण्डले स्पष्ट पारेकाे छ ।