
वीरगञ्ज, ८ असोज । मूर्ति बिर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच भएको विवादलाई लिएर वीरगञ्जमा पनि तनाब उत्पन्न भएपछि महानगरपालिकाको अगुवाइमा आज सद्भाव ¥याली निकालिएको छ ।
वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट निष्किएको सद्भाव ¥यालीमा राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, कर्मचारी, बुद्धिजीवीलगायतको सहभागिता थियो ।
र्याली पश्चात् जिल्ला प्रशासन कार्यालय पुगेर वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह सहितको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई ज्ञापनपत्र समेत बुझायो ।
सद्भाव र्याली पश्चात् आयोजित कोणसभामा सांसद तथा जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले सामाजिक सद्भाव भड्काउने तत्वहरुको पहिचान गरी अविलम्ब कारबाही गर्न माग गरे।
‘‘हिन्दू र मुस्लिमलगायत धर्माबलम्बीबीच कायम रहेको आपसी सद्भावलाई बिथोलेर निहित स्वार्थपूर्ति गर्न केही तत्व पछिल्लो समय सक्रिय बनेका छन्”, उनले भने, ‘‘ती तत्वहरुले विभिन्न चाडपर्वका नाममा प्रदर्शन गर्ने, जातजातीबीच द्वन्द्व बढाउने अभिव्यक्ति दिने र विभिन्न व्यक्तिका पसल तथा घरमा तोडफोड गर्नेजस्ता कार्य गर्दै आएका छन्, तिनीहरुलाई अविलम्ब पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ ।”
महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सद्भाव बिगार्ने र जातीय द्वन्द्व फैलाउने कार्यमा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवम् सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्न सबै एकजुट हुनुपर्ने उनले बताए।