
पोखरा, २० असोज । सप्तरङ्गी साहित्य समाज नेपाल, गण्डकी प्रदेशले साहित्यको क्षेत्रमा योगदान दिएका विभिन्न साहित्यकार तथा व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
आज पोखरामा आयोजना गरिएको साहित्यिक अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष गोवर्धन पूजा, महासचिव विमला निरौलालाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको हो । यस्तै संस्थाले अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, पोर्चुगल च्याप्टरका सचिव गोमा रेग्मी र प्रभा पौडेललाई सम्मान गरेको छ ।
सम्मान गरिसकेपछि कार्यक्रमका प्रमुख अतिथि कास्कीकाे अन्नपूर्ण गाउँपालिका अध्यक्ष तथा साहित्यप्रेमी व्यक्तित्व विष्णु बहादुर केसीले देश विदेशमा बसेर नेपाली भाषा, संस्कृतिको उत्थानको लागि विशेष योगदान दिएकोमा आभार व्यक्त गरे ।
म साहित्यिक व्यक्ति होईन तर साहित्यको भावलाई बुझ्दछु । मलाई साहित्य मन पर्छ किनभने यसले समाज परिवर्तनको लागि राम्रो बिचार निर्माण गर्दछ । साहित्य परिवर्तनको र चेतनाको दीयो हो मलाई यस्तो लाग्छ । सो अवसरमा केसीले आफ्नो भाषा, कला, साहित्य र संस्कृतिलाई जोगाउन नसकिए अस्तित्व नै समाम्त हुने खतरा रहेको बताए । उनले भने, मैले गाउँपालिकाको वजेटमा भाषा, कला, संस्कृति र साहित्यको लागि वजेटको व्यवस्था गरेको छु । तपाँईहरु भन्नुस् मैले मेरो क्षेत्रबाट के गर्नुपर्छ त्यसका लागि तयार छु ।
अमेरिकाबाट छोटो बसाईका लागि नेपाल आएका भएका सम्मानित स्रष्टा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले प्रभावसमा रहेता पनि आफुहरुको मन हरदम स्वदेशमै रहेको बताए । उनले नेपाली भाषा, साहित्यको प्रवर्धनका लागि विश्वभर छरिएर रहेका साहित्यकारहरुलाई एकाकार बनाउँदै संरक्षण, संवर्धन र प्रवर्धनमा लागि रहेको बताए ।
२५ वर्ष अगाडी पोखरामा आउँदाको साहित्यको लगाव र २५ वर्षपछि आउँदा पनि अँझ बढी सुसंस्कृत भएको पाएको बताए । जीवनमा सम्मान पाउनु भनेको अहोभाग्य हो । उनले भने, यस्तो ममतामयी सम्मान जहिले तहिले पाईन्न । हामीले प्रवासमा बसेर गरेको कर्म र त्यहाँबाट स्वेदशको साहित्यलाई जोड्ने कुरा सजिलो नभएको बताए । तैपनि आफ्नो भाषा, साहित्यको लागि लागिरहने हाम्रो प्रण छ उनले भने ।
अनेसास महासचिव तथा सप्तरङ्गी साहित्य समाज नेपालका संरक्षक विमला निरौलाले विश्भर छरिएर रहेका साहित्यकारहरुलाई एउटै मञ्चमा ल्याउने र साहित्यको उन्नयनको काम गरिरहेको बताईन । हामीलाई सरसल्लाह दिनुस् कसरी अगाडी बढ्नुपर्छ । त्यहाँ बसेर पनि हाम्रा स्रष्टाले विभिन्न पुस्तकहरु प्रकाशन गरिरहनु भएको छ । पोखरामा हामीलाई गहिरो माया दिएको कुरा यो सम्मानले प्रष्ट भएको छ । आखिर जीवनमा पाउनु भनेको यहि नै त रहेछ ।
अनेसास नेपाल च्याप्टरमा अध्यक्ष राजेन्द्र केसीले अनेसासले साहित्यकै क्षेत्रमा काम गरिरहेको बताए। संस्थाले साहित्यकारहरुको खोजि, सम्मान, एकाकार गराउने र देशको भाषा, साहित्यलाई टेवा पुर्याउने काम गरिरहेको छ । तपाँई गण्डकीमा केहि गर्न लाग्नु भयो र संस्थाको आवश्यक्ता परेमा अनेसास त्यसका लागि सहयोगि हुने उनको भनाई थियो ।
प्राज्ञ नारायण मरासिनीले जुनसुकै भूगोलमा रहेता पनि हामीले साहित्यकै काम गरिरहेका छौं । उनले भने, साहित्य, कला, संस्कृतिले समाजलाई सुन्दर बनाउने काम गर्दछ ।
कार्यक्रममा अनेसास गण्डकीका अध्यक्ष दुर्गा बहादुर शाह बाबा, पोखरा महानगपालिका वडा नं ५ का निवर्तमान अध्यक्ष धन बहादुर नेपाली, गीतकार आरजू विष्ट सल्यानी, शिव त्रिपाठी लगायतले सम्मानित हुनेहरुलाई वधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सोहि अवसरमा लक्ष्मी नारायण मन्दिरको तर्फबाट शुभद्रा कोईरालाले सम्मानित व्यक्तित्व पूजा तथा निरौलालाई गीता पुस्तक प्रदान गर्दै सम्मान व्यक्त गरेकि थिईन ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई संस्थाका उपाध्यक्ष माधव चापागाईले स्वागत गरेका थिए । अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मीना भण्डारीले गरेकि थिईन ।
