
काठमाडौं, २६ असाेज। चिरख्वा हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर जारी गरेकाे हाे।
यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बाँडफाँड गरेपछि अहिले सर्वसाधारणका लागि सेयर खुलाइएकाे हो।
पहिलो चरणमा स्थानिय जनताका लागि ४ लाख कित्ता सेयर निष्काशन गरिएकाे थियो। यसमा २ लाख ४ हजार ७०० कित्ता बाँडफाँड भएको थियाे । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुकेा लागि ८० हजार कित्ता खुलाएकाे थियाे । कर्मचारीहरुका लागि १६ हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता जारी गरी बाँडफाँड भइसकेकाे छ।
सेयरमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे अविधसम्ममा पूरा आवेदन नपरेमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाँकी छ।
सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।