अदालतको आदेश लगत्तै रिगल ढकाल पक्राउ

-



     सफल आवाज    
     कार्तिक १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ कात्तिक। सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले रिगल ढकाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले रिगललाई पक्राउ गरिसकेकाे जनाएकाे छ।

अदालतको फैसलामा भनिएको छ, “निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।”

संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकाल (रिगल) को कैद मिनाहा भएको थियो । उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन।